काठमाडौं, १० वैशाख । राजतन्त्र फर्काउने र हिन्दुराज्य कायम गर्ने आन्दोलनको नाममा १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले तीन दिन मात्र हिराशतमा राख्ने अनुमति दिएको छ ।
दुवै जनालाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले तीन दिन मात्र हिराशतमा राख्न आदेश दिएको हो । अदालतको आदेश पनि शर्तसहितको छ । अदालतले कसुरमा संलग्नता पुष्टि गर्ने थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्नेबारे अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयलाई जानकारी गराउनू भन्ने आदेश दिएको छ ।
अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको छ ।
दुवै जनाका तर्फबाट दिइएको हाजिरी जमानी छाडी पाउँ भन्दै निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप ३ दिन मात्र हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपको माग गर्दा प्रहरीले जाहेरी लिने र क्षतिको विवरण संकलन गर्ने काम बाँकी रहेको भनेको छ ।
अदालतले भने ‘मिश्र समेतको बयान कार्य सम्पन्न भइसकेकोमा के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकाले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थप पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको नदेखिएको’ भनेको छ ।
यस्तो अवस्थामा थप गरिएको ३ दिन म्यादमा बयान लिन बाँकीको बयान लिने र प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने कुन प्रमाण संकलन गर्न बाँकी हो त्यसको स्पष्ट विवरणसहित म्याद थपको माग गर्ने गरी ३ दिन म्याद दिइएको भनिएको छ ।
प्रसाईंले ‘आफू क्यान्सर रोगबाट ग्रसित रहेको, हरेक दिन क्यान्सर रोगको उपचार भइरहेको र हरेक दिन चिकित्सकको निगरानीमा रहनुपर्ने तथा जीवन रक्षाका लागि चिकित्सकको निगरानीमा रहेर औषधी सेवन गर्नुपर्ने’ भन्दै हाजिरी जमानतमा छाड्न माग गर्नुभएको थियो ।
मिश्रलाई समेत यसअघि आवश्यक स्वास्थ्य जाँच र चिकित्सकको सिफारिस अनुसार उपचारको प्रबन्ध गराउने गरी आदेश भएको भन्दै अदालतले त्यसको प्रबन्ध गराउन भनेको छ ।
साथै, प्रसाईंको बयान सम्पन्न गरेर दुवैजनाको स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरेर कसुरमा संलग्नता पुष्टि गर्ने थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्नेबारे अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयलाई जानकारी गराउनू भन्ने आदेश भएको छ ।
प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । राप्रपा नेता मिश्रलाई १५ चैतमा काठमाडौंबाटै पक्राउ गरिएको थियो ।


















