Prakash Adhikari April 25, 2025

काठमाडौँ, १२ वैशाखः नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार-२०८१’ घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान प्रदान हुने उक्त पुरस्कारका लागि आठ जना वरिष्ठ स्रष्टाको नाम सार्वजनिक गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको पुरस्कारका लागि सङ्गीत विधातर्फ कुन्ती मोक्तान, शास्त्रीय तथा परम्परागत विधामा कुशेस्वर राई, नाट्य विधामा वेदकुमारी न्यौपाने, लोकसङ्गीत विधामा नारायण रायमाझी, रङ्गमञ्च विधामा हरिबहादुर थापा, नृत्य विधामा भुवनदास श्रेष्ठ, खोज तथा अनुसन्धान नृत्य विधामा केपी पौडेल र वाद्यवादन विधातर्फ राजु अग्रवाल छनोट हुनुभएको छ ।

ताम्रपत्रसहित उक्त पुरस्कारको राशि जनही रु एक लाख एक रहेको आयोजको जनाएको छ । कुलपति शर्माले यसै वर्षदेखि लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ कलाकारलाई सम्मान गर्न लागिएको बताउँदै उक्त पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम भने यथाशीघ्र घोषणा गरिने जानकारी दिनुभयो ।

उहाँले कलाकारहरूको परिचयपत्र वितरण, बिमा, व्यवस्थित रोयल्टी सङ्कलन, सङ्गीत प्रशिक्षण पाठ्यक्रम निर्माण गरी नेपालबाट प्रमाणपत्र वितरण, आफ्नै स्थायी सुविधा सम्पन्न भवन निर्माणलगायत आवश्यक काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने योजनाका साथ अघि बढेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानको महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत पुरस्कारले सङ्गीत तथा नाट्य क्षेत्रका स्रष्टाहरुमा प्रेरणा प्राप्त गर्ने र अग्रजको सम्मान गर्ने रहेको प्रतिष्ठानकी सदस्यसचिव कुष्मा महराले बताउनुभयो । सीमित बजेटका बाबजुत पनि नेपालको सङ्गीत तथा नाट्य विधाको सर्वाङ्गीण विकासका लागि प्रज्ञा–प्रतिष्ठान तत्परताका साथ अघि बढिरहेको उहाँको भनाइ छ ।

उपकुलपति शम्भु राईले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफूलाई समीक्षा गर्दै आगामी दिनमा नयाँ गुरुयोजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहँँका अनुसार उक्त सम्मान चालु आर्थिक वर्षमा उपयुक्त समय मिलाएर वितरण गरिने छ ।

Share Now