Prakash Adhikari April 26, 2025

काठमाडौं, १३ बैशाख । एनसेल नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करण अन्तरगत आज साविक विजेता ललितपुर सिटी फुटबल क्लबबीच आज फाइनल खेल हुँदै छ ।

दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ ।

दुई टोली फरक यात्राबाट फाइनल पुगेका हुन्। अपराजित रहँदै अंक तालिका शीर्षस्थानमा रहको ललितपुरले पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो।

अर्कोतर्फ सुरुवाती दुई खेलमा हार बेहोर्दै पोखराले पनि फाइनलको यात्रा तय गर्यो।

पोखराले दमदार पुनरागमन गर्दै काठमाडौ रेजर्सलाई गोल अन्तरमा पछि पार्यो। चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। त्यसपछि उसले इलिमिनेटरमा चितवनलाई हरायो। दोस्रो क्वालिफायरमा धनगढीमाथि जित निकाल्दै पहिलो पटक फाइनल पुग्यो ।

पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल प्रवेश गर्नु गौरवको विषय भएको बताए। ‘अन्ततः हामी फाइनलमा पुग्यौं, धेरै खुसी छौं। टोली आत्मविश्वासले भरिएको छ। टोली शारीरिक र मानसिक रूपमा तयार पनि छ,’ श्रेष्ठले भने।

उनले थपे, ‘ललितपुर बलियो टोली हो, त्यसअनुसार योजना बनाएका छौं। हामी योजनालाई राम्रोसँग कार्यान्वयन गर्नेमा विश्वस्त आशामा छौं।’

लिग चरणमा ललितपुरसँग ३(२ ले हारको स्मरण गर्दै श्रेष्ठले आफ्नो टोली निकै सुधारिएको बताए। ‘त्यो खेलपछि टोलीमा धेरै सुधार आएको छ। हाम्रो टोली प्रत्येक खेलसँगै बलियो हुँदै आएको छ, जुन ठूलो उपलब्धि हो,’ उनको विश्वास छ ।

ललितपुरका मुख्य प्रशिक्षक साइमन निकोलस ग्रेसन आत्मविश्वास र संयमित देखिएका छन्। ‘हामीले पर्याप्त विश्राम पायौं, तयारी राम्रो छ, र टोली मानसिक तथा शारीरिक रुपमा तयार छ। उपाधि रक्षा गर्न उत्साहित छौं,’ उनले भने।

ललितपुरका कप्तान अनन्त तामाङले भने, ‘ हामीले पहिलो क्वालिफायरपछि ५–६ दिन विश्राम पायौं, तयारी राम्रो छ। म सधैं खेलाडीबीचको सम्बन्ध बलियो बनाउने प्रयास गर्छु, त्यसको फल नतिजामा देखिन्छ।’

अनन्तले पोखराको प्रदर्शनमा सुधार भएको स्वीकारे। ‘पोखरा प्रत्येक खेलसँगै सुधारिएर बलियो प्रतिद्वन्द्वी बनेको छ। हामीले उनीहरूको कमजोरी विश्लेषण गरेका छौं र त्यहीमा ध्यान दिनेछौं ।

ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ। जारी लिगमा एकरूपताको प्रदर्शन उसको बलियो पक्ष हो। पोखरा पहिलो पटक च्याम्पियन बन्ने होडमा छ। उसले पछिल्लो समय निकालेको नतिजा र टिमको निरन्तरको जितलाई बलियो पक्ष मान्न सकिन्छ।

 

Share Now