Prakash Adhikari November 2, 2017

 

काठमाडौं, १६ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ४५ जिल्लामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उत्साहपूर्वक शान्तिपूर्ण रुपमा उम्मेद्वारी दिएका छन् ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ६ बजेसम्मको विवरण अनुसार, प्रतिनिधिसभाका १ सय २८ सीटमा ५ सय २२ र प्रदेशसभा सभाका २ सय ५६ सीटमा ८ सय ८३ गरी जम्मा १ हजार ४ सय पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभाका कुल १ सय ६५ सिटमध्ये ३७ सिट र प्रदेश सभाका कूल ३ सय ३० मध्ये ७४ सीटमा कात्तिक ५ गते नै मनोनयन दर्ता भइसकेको छ ।

आगामी आम चुनावका लागि विहीबारमात्रै एक जना बहालबाला र चारजना पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डँडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन भने पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ बाट । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम १ बाट उम्मदेवारी दर्ता गरे भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं २ बाट । माओवादी अध्यक्ष एवम् पूर्वपधानमन्त्री प्रचण्डले चितवन ३ बाट विहीबार उम्मेदवारी दर्ता गराए ।

अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले गोरखा २ बाट यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १, विमलेन्द्र निधि धनुषा ३ र प्रकाशमान सिंहले काठमाडौं १ बाट मनोनयन दर्ता गरेका छन् । कृष्ण सिटौलाले झापा ३ बाट उम्मेदवारी दिएका छन् ।

त्यसैगरी डा। रामशशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट चुनाव लड्दैछन् भने युवा नेता गगन थापाले काठमाडौं ४ बाट उम्मदेवारी दर्ता गरेका छन् ।

एमालेका शीर्ष नेतामध्ये पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामबाट उम्मेदवारी दर्ता गरेका छन् । महासचिव ईश्वर पोखरेलले काठमाडौं ५ बाट मनोनयन दर्ता गरेका छन् । उपाध्यक्ष वामदेव गौतमले बर्दिया १ बाट उम्मेदवारी दर्ता गरेका छन् । उपमहासचिव विष्णु पौडेल रुपन्देही २ बाट र धनश्याम भुसालले रुपन्देही ३ बाट मनोनयन दर्ता गरेका छन् ।

एमाले सचिव गोकर्ण विष्ट र प्रदीप ज्ञवालीले गुल्मीबाट उम्मेदवारी दिएका छन् भने अर्का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेसँग गठबन्धन गरेका माओवादी नेताहरुमध्ये नारायणकाजी श्रेष्ठले यसअघि नै गोरखा २ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् । पार्टी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

अन्य दलका नेताहरुमध्ये राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

मधेसकेन्द्रित दलका नेताहरुमध्ये उपेन्द्र यादवले सप्तरी २ मा मनोनयन दर्ता गरेका छन् भने महन्थ ठाकुरले महोत्तरी ३ बाट र राजेन्द्र महतोले धनुषा ३ बाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै शरदसिंह भण्डारीले महोत्तरी २ र महेन्द्र राय यादवले सर्लाही २ बाट उम्मेदवारी दिएका छन् ।

राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले चितवन ३ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिएका छन् । अर्का नेता दीपक बोहोराले रुपन्देही ३ मा वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग भिड्ने गरी उम्मदेवार दर्ता गराएका छन् ।

त्यस्तै सुनीलबहादुर थापाले धनकुटाबाट उम्मेदवारी दर्ता गरेका छन् ।राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पुशपति समशेर राणाले पहिल्यै सिन्धुपाल्चोकबाट उम्मेदवारी दिइसकेका छन् । उनलाई नेपाली कांग्रेसको साथ छ ।

३२ जिल्लाका ७४ प्रदेशसभा सिटमा पनि कात्तिक ५ नै मनोनयन दर्ता भइसकेको छ ।

पहिलो चरणमा मनोनयन दर्ता भएका ३२ जिल्लामा मंसिर १० गते मतदान हुनेछ ।

विहीबार मनोनयन दर्ता भएका ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।

 

Share Now

Leave a comment.