त्रिशूली (नुवाकोट), २० वैशाखः ‘बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।
खेलको दोस्रो हाफको अतिरिक्त ६ मिनेटमा एपिएफका अनिता केसीले लागि निर्णायक गोल गरेपछि एपिएफ विजयी भएको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा आज आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपिसी) लाई १–० गोलले हराउँदै एपिएफले ‘प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप’को उपाधि जितेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतियोगिताको विजेतालाई नगद रु पाँच लाखसहित सिल्ड, मेडल र ट्रफी तथा उपविजेता एनपिसीलाई नगद रु दुई लाख ५० हजारसहित सिल्ड, मेडल र ट्रफी प्रदान गर्नुभयो ।
उहाँले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा समेत टेवा पुग्ने भन्दै आयोजकको प्रशंसा गर्नुभयो । प्रवक्ता महतले प्रदेश सरकारको आर्थिक लगानीमा स्थानीय सरकारमार्फत पूर्वाधार विस्तार गरी सञ्चालन गरिएका प्रतियोगिताले खेल क्षेत्रको विकास हुनुका साथै र खेलाडीलाई प्रोत्साहन गरेको बताउनुभयो ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल सङ्घको आयोजनामा यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका आठवटा क्लबले सहभागिता जनाएका थिए ।
प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोगसहित बागमती प्रदेश खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहेको थियो ।


















