Prakash Adhikari May 3, 2025
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), २० वैशाखः सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायिक समितिमार्फत गाउँ–गाउँमा न्याय पुगेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीका सातवटै पालिकाका न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनको  आज यहाँ परासीमा उद्घाटन गर्दै उहाँले न्यायिक समिति तथा मेलमिलापकर्ताहरूमार्फत स्थानीयस्तरमा न्यायमा पहँुच स्थापित भएको उल्लेख गर्नुभयो ।
कायममुकायम प्रधानन्यायाधीश मल्लले भन्नुभयो, “स्थानीय तहमा रहेको न्यायिक समिति खर्चिलो नभएको र समयमै समस्याको समाधान हुने भएकाले गाउँगाउँमा न्याय पुगेको छ । यद्यपि समितिलाई उत्तिकै चुनौती पनि छन् । यसमा सहजीकरण आवश्यक छ ।”
न्यायपालिकाले सक्षमता, निष्पक्षता र निष्ठालाई ध्यानमा राखेर आफ्नो कामहरू अगाडि बढाएको उल्लेख गर्दै उहाँले सबैले यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । कायममुकायम प्रधानन्यायाधीश मल्लले संविधानमा भएको अधिकार स्थानीय न्यायिक समितिले कमै प्रयोग भएको देखिएकाले यसको प्रयोगमा अधिकतम जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
सर्वोच्च अदालत न्यायमा पहँुच तथा क्षमता अभिवृद्धिका लागि चाहिने आवश्यक सचेतनामूलक कार्यक्रमहरूलाई व्यवस्थापन गर्न तयार रहेको मल्लले बताउनुभयो ।
रामग्राम नगरपालिकाको उपप्रमुख सम्झाना चौधरीले यहाँ पहिलोपटक सम्मेलन आयोजना गरिएको सम्मेलनले न्यायिक क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Share Now