Prakash Adhikari May 4, 2025

काठमाडौं, २१ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको दि कोर क्याम्पको दोस्रो चरणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ।

नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन्। यस्तै देव खानल पनि दोस्रो चरणमा परेनन्।

बेलायत टुर र स्कटल्याण्ड लिग २ सिरिजको लागि नेपाली खेलाडीहरुलाई दि कोर क्याम्पमा ४ टोली बनाएर प्रतियोगिता गरिएको थियो।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले ५२ खेलाडी पहिलो चरणमा छनोट गरेको थियो। निलो , हरियो , रातो र पहेंलो टोली बनाएर मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा भएको थियो।

नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेपछि यो प्रतियोगिता आयोजना गरिएको थियो।

क्यानले शुक्रवार नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगामी मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको थियो।

आइसीसी क्रिकेट वल्ड कप लिग टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ।

रोहित पौडेलको कप्तानी रहने नेपाली टिमको दोस्रो चरणमा छनोट भएका २५ खेलाडीहरुमा आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसाकार रहेका छन् ।

Share Now