काठमाडौं, २१ वैशाख। सर्वोच्च अदालतको आदेश अनुसार काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघको एकता महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गरेको हो ।
सर्वोच्चको परमादेश अनुसार एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको आयोजनामा शनिवार र आइतवार काठमाडौंमा ह्यात रिजेन्सी होटलमा भएको एकता महाधिवेशनले निर्धारित गरेको निर्वाचन तालिकामा एक एक पदका लागि एक एक जनाको मात्र उम्मेदवारी परेकोले सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी निर्वाचित हुनुभएको छ ।
त्यस्तै महिला उपाध्यक्षमा कोरियाबाट जुनु गुरुङ निर्वाचित हुनुभएको छ महासचिवमा बाबुराम लामा ।
यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे निर्वाचित हुनुभएको छ । सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै सहकोषाध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन हुनुभएको छ भने सहकोषध्यक्ष महिलामा भने उम्मेदवारी परेको छैन । महिला संयोजकमा रश्मी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्रगत हिसाबमा ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध निर्वाचित हुुनुभएको छ।
सर्वोच्च अदालतले एक वर्षअघि २१ चैत २०८० मा घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । साथै, आदेशमा २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशन खारेज गर्न पनि भनिएको थियो ।
सोही अनुसार घले नेतृत्वको समितिको आयोजनामा एकताको महाधिवेशन सम्पन्न भएको हो । तर, काठमाडौंमा सम्पन्न १०औं महाधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष डा. बद्री केसी र एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यो महाधिवेशनलाई मानेको छैन ।
केसी नेतृत्वको कार्यसमितिलाई पनि सर्वोच्चकै अर्को इजलासले कामकाज अघि बढाउन नरोक्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।
सो महाधिवेशनको मतदानमा नै धाँधली भएको आरोप लगाउने मत परिणाम अस्वीकार गर्नुभएका आरके शर्मा र महेश श्रेष्ठ पूर्व अध्यक्ष घलेको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले आयोजना गरेको महाधिवेशनमा सहभागी हुनुभएको छ । एकता महाधिवेशनको समुद्घाटन गर्नुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले मान्यता दिने एनआरएनए यही हुने बताउनुभएको थियो।
एकता महाधिवेशनले एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमदलाई निर्वाचित गरेको छ भने अफ्रिका क्षेत्रीय संयोजकमा भने उम्मेदवारी नै परेको थिएन ।
एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र भीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई निर्वाचित हुनुभएको छ भने उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा शिवराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री चयन हुनुभएको छ ।









