पोखरा (कास्की), २२ वैशाख । इरानको भलिबल टोलीले प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आज पोखरामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोली च्याम्पियन बनेको हो।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा इरानी टोलीले पहिलो सेट २५–१८ ले जित्दै एक शुन्यको अग्रता बनायो।
दोस्रो सेटमा पुलिसल पुनरागमन गर्यो। दोस्रो सेट २४–२६ इरानी टोलीले गुमायो। खेल एक(एकको बराबरीमा पुग्यो।
यो लयलाई पुलिसले निरन्तरता दिन सकेन्।तेस्रो र चौथो सेटमा पकड बनाउँदै इरानी टोलीले २५–१८ र २५–१७ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो।
प्रतियोगिताका उत्कृष्ट खेलाडी इरानी टोलीका आमिर होसेन घोषित भए। उनलाई १४ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिएको छ।
इरानी टोलीकै अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर र दीपक थापा उत्कृष्ट डिफेन्डर चुनिए। यस्तै पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर र आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर बने। इरानी टिमका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए।
प्रतियोगिताको विजेता इरानी टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता नेपाल पुलिस क्लबले २ लाख ४४ हजार ४ सय ४४ नगद हात पार्यो। प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको थियो।


















