काठमाडौं,९ साउन । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गरि जीवन रक्षा गर्न राष्ट्रियसभाको बैठकमा माग गरेको छ । सो सम्बन्धमा सरकारको धारणा नआई बैठकको कार्यसूची अगाडि बढ्न नसक्ने अडान प्रतिपक्षले राखेपछि राष्ट्रियसभाको बैठक १६ साउनसम्म स्थगित गरिएको छ ।
नेपाली कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको ेप्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताउयनु भएको थियो।
राष्ट्रियसभा सदस्य पाण्डेको भनाइसँगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।
कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराउनुभएको थियो।
बुधबारको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो ।