काठमाडौं, २४ वैशाख । आगामी तीन दशकभित्रै नेपाल वृद्ध वृद्धाको समाजमा रूपान्तरण हुन लागेकाले अबका ३०(४० वर्षभित्र व्यापक नीतिगत फेरबदल नगरिए जटिल सामाजिक(आर्थिक प्रभाव झेल्नुपर्ने अवस्था आइपर्ने एकजना जनसङ्ख्याविद्ले बताउनुभएको छ।
६० वर्षमाथिका जनसङ्ख्या बढ्दै जानु र १५ वर्षमुनिका जनसङ्ख्या घट्दै जानु भनेको विश्वभरि नै विकासको स्वाभाविक परिणतिको रूपमा देखिने गरेको बताइए पनि अझै विकास र सम्पन्नतामा पछाडि परिरहेको नेपालको हकमा त्यसले गम्भीर असर पार्ने जानकारहरूले चेतावनी दिएका छन्।
तीन दशकमै वृद्ध वृद्धाको समाज
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामामा आधारित भएर सोमवार सार्वजनिक गरेको जनसङ्ख्या संरचनासम्बन्धी प्रतिवेदनले वि.सं. २१११ मा नेपाल वृद्ध वृद्धाको समाजमा रूपान्तरण भइसक्ने प्रक्षेपण गरिएको छ।
“वास्तवमा अहिले नै नेपाल वृद्ध वृद्धाको समाजतर्फ अग्रसर भइसकेको देखिन्छ। ६० वर्षमाथि उमेर भएका मानिसहरूको सङ्ख्या १० प्रतिशत नाघिसकेको छ। ६४ वर्षमाथि उमेर भएकाहरूको सङ्ख्या पनि ६ प्रतिशत नाघिसकेको छ”, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले बीबीसीलाई बताउनुभयो।
“अबको २१ वर्षमा वृद्ध वृद्धाको सङ्ख्या दोबर हुने देखिएको छ।”
यही अवधिमा काम गर्ने उमेरका मानिसहरू – १५ देखि ६० वर्षसम्म – को सङ्ख्या निरन्तर सङ्कुचित हुँदै जाने अवस्था देखिएको छ।

केही दशक बाँकी छ अवसर
अहिले नेपाली समाजमा काम गर्न सक्ने मानिसहरूको अनुपात दुई तिहाइ रहेको र त्यो अवस्था अझै केही दशक बाँकी रहने देखिन्छ।
“जनसङ्ख्याको फाइदा लिने समय अब धेरै बाँकी छैन। अहिलेको स्थिति भनेको जनसाङ्ख्यिक रूपले एकदम राम्रो हो तर ३०-४० वर्षसम्म मात्रै त्यो अवसर रहन्छ”, जनसङ्ख्या मामिलाका जानकार प्राध्यापक योगेन्द्र गुरुङले भन्नुभयो।
उहाँले केही दशक अगाडिसम्म नेपालमा १५ वर्षभन्दा कम उमेरका मानिसको सङ्ख्या ४० प्रतिशत रहेकोमा अहिले त्यो घटेर २८ प्रतिशतमा ओर्लिएको बताउनुभयो।
उहाँले काम गर्न सक्ने उमेर ९१५(६४ वर्ष०का मानिसहरू अहिले पनि ६५ प्रतिशतको हाराहारीमा रहेको र ६४ माथिका चाहिँ पुगनपुग ७ प्रतिशत रहेको हुँदा अहिले नेपालसँग विशिष्ट अवसर विद्यमान रहेको बताउनुभयो।
आन्तरिक तथा विदेश बसाइँसराइका कारण गाउँघर रित्तिन थालेको चिन्ता बढेको छ
“अब बिस्तारै काम गर्न सक्ने उमेरका मानिसहरू घट्दै जाने र आश्रितहरूको सङ्ख्या बढ्ने हुन्छ। त्यसका निम्ति अहिले देखि नै नीतिगत फेरबदल गर्न थालिहाल्नु पर्छ।”
“काम गर्न सक्ने उमेरका दुई तिहाइ जनसङ्ख्यालाई सदुपयोग गर्न सके द्रुत गतिमा आर्थिक वृद्धि हुन सक्छ।”
तथ्याङ्क कार्यालयका प्रवक्ता लामिछाने पनि त्यसमा सहमत हुनुहुन्छ।
“तोकेरै भन्ने हो भने हामीसँग करिब २७ वर्ष छ जबसम्म हामीले युवा शक्तिको सकेसम्म सदुपयोग गर्न सक्नु पर्छ”, उहाँले भन्नुभयो।
के पर्लान् प्रभाव?
जनसङ्ख्या संरचना परिवर्तन हुँदा आर्थिक तथा सामाजिक रूपमा थुप्रै प्रभाव पर्ने जानकारहरूले बताएका छन्।
“वृद्ध वृद्धाको सङ्ख्या बढ्नु भनेको समग्र स्वास्थ्योपचार सेवा राम्रो हुँदै गएको सङ्केत पनि हो। यसो हुँदा आगामी दिनमा ज्येष्ठ नागरिक केन्द्रित नीतिहरू आवश्यक पर्छन्”, प्रवक्ता लामिछानेले भन्नुभयो।
घरपरिवारमा वृद्धवृद्धाहरूमात्रै एक्लै रहनु पर्ने स्थिति पनि झन् झन् बढ्दै जाने देखिएको उहाँले बताउनुभयो।
“वृद्ध वृद्धाका निम्ति सामाजिक सुरक्षा, स्वास्थ्य तथा हेरचाहको जोहो गराउनु पर्नेछ”, उहाँले भन्नुभयो।
नेपालले अहिले पनि वृद्ध भत्ता लगायत विभिन्न शीर्षकमा सामाजिक सुरक्षा अन्तर्गत बर्सेनि एक खर्ब रुपैयाँभन्दा धेरै खर्च गरिरहेको छ।
आगामी वर्षहरूमा त्यो रकम अत्यधिक बढ्न सक्ने अनुमान गर्न सकिन्छ।
त्यसैले वृद्ध वृद्धाहरूलाई पनि स-साना आर्थिक गतिविधिमा सामेल गराइरहन उचित हुने जानकारहरू बताउँछन्।
“एउटा उपाय भनेको अवकाश पाउने उमेर बढाउने हो। निजामती सेवामा अहिले ५८ वर्षमा अवकाश हुन्छ। तर स्वास्थ्योपचारमा आएको प्रगतिले कैयन् मानिसहरू ७० देखि ८० वर्षसम्म पनि सक्रिय रहन सक्छन्”, त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन विभागका पूर्व प्रमुख प्राध्यापक योगेन्द्र गुरुङले भन्नुभयो।
“निजामती लगायत अन्य क्षेत्रमा अवकाश पाउने उमेर पुनर्विचार गर्न आवश्यक किन पनि छ भने अब नेपालीहरूको औसत आयु पनि बढेर ७१ वर्ष पुगिसकेको छ।”
धेरै लगानी गरेर तयार भएका मानव स्रोतलाई अझ बढी समयसम्म उपयोग गर्नु आर्थिक दृष्टिकोणबाट लाभदायक हुने उहाँले बताउनुभयो।
त्योबाहेक सामाजिक सुरक्षा भत्ता लिने उमेर बढाउन पनि उत्तिकै जरुरी रहेको उहाँले औँल्याउनुभयो।
अहिलेको जनसङ्ख्या संरचना
२०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९२ लाख थियो जुन आजको दिनमा २ करोड ९८ लाख पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
जनसङ्ख्या वृद्धि दर ०.९२ प्रतिशत रहेको छ।
पछिल्लो प्रतिवेदनअनुसार नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या विसं २०४८ देखि लगभग तीन गुणाले बढेको छ।
विश्वव्यापी प्रवृत्ति हेर्दा पनि सन् २०५० सम्म पुग्दा संसारका प्रत्येक ६ जनामा एक जना ६५ वर्ष वा सोभन्दा माथिका हुने अनुमान गरिएको छ।
उक्त समयसम्म विश्वका मानिसहरूको औसत आयु पनि बढेर ७७ वर्ष नाघ्ने अनुमान छ।


















