क्वालालम्पुर(मलेशिया), ९ साउन (बीबीसी) । मलेशिया जाने नेपाली कामदारबाट चर्को शुल्क असुल्ने क्रम रोक्ने विषयमा क्वालालम्पुर बैठकमा प्रगति भएको एक नेपाली अधिकारीले बताएका छन्।
नेपालीहरूका लागि वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्यका रूपमा रहेको मलेशियासँग श्रम समस्याको समाधान गर्ने प्रयास गरिरहेको नेपाली पक्षले मलेशियाली मानव संशाधन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेको छ।
त्यसै क्रममा हाल जारी समस्या समाधान गर्न मलेशियाली अधिकारीहरू सकारात्मक रहेको बताइएको छ ।
मलेशिया जाने नेपाली कामदारमाथि विभिन्न शीर्षकमा चर्को शुल्क असुल्दै ठगिएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सरकारले कामदारहरूलाई मलेशिया जान रोक लगाएको पनि करिब दुई महिना बितिसकेको छ।
गम्भीर
मलेशियाली मानव संशाधन मन्त्रालयमा नेपाली दूतावासको प्रतिनिधिमण्डल र मलेशियाली अधिकारीहरूबीच मङ्गलवार छलफल भएको हो।
सो क्रममा नेपाली कामदार मलेशिया आउँदा तिर्न बाध्य पारिएको चर्को शुल्क घटाउने, आउटसोर्सिङ कम्पनीहरू खारेज गर्ने, कामदार भर्ना प्रक्रियालाई सहज एवम् प्रभावकारी बनाउने र श्रम सम्झौता गर्ने लगायत विषयमा छलफल भएको नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए ।
गत साता दूतावासको निमन्त्रणामा नेपाली दूतावासमा भएको शिष्टाचार भेटमा मलेशियाली मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली कामदारमाथि भएको भनिएको ठगीको सम्बन्धमा मलेशिया गम्भीर रहेको बताएका थिए ।
नेपाली दूतावासका अनुसार मङ्गलवारको विस्तृत छलफलमा हाल नेपाली कामदार मलेशिया आउन रोकिएको कारणबारे जानकारी गराउँदै अवैध रकम उठाउन रोक्न र दुई देशबीचको श्रम सम्बन्ध सुदृढ बनाउन मलेशिया सरकारको ध्यानाकर्षण गराइएको छ ।
शुल्क
कार्यवाहक राजदूत कुमारराज खरेलले भने, “भेटमा नेपाली कामदारहरूले तिर्नुपरिरहेको चर्को भिसा शुल्क घटाउने र अनावश्यक कम्पनीहरू खारेज गर्नेसम्बन्धी हाम्रो अनुरोध पुन: दोहोऱ्यायौँ।”
उत्तरमा मलेशियाली अधिकारीहरूले उक्त विषयलाई गम्भीर रूपमा लिइएको र त्यसबारे छिट्टै निर्णय हुने प्रतिबद्धता जनाएको खरेलको भनाइ छ।
खरेलले भने, “नेपालको अनुरोधप्रति मलेशिया सरकार गम्भीर रहेको र सकारात्मक तरिकाले हाम्रो अनुरोध र चासोलाई सम्बोधन गर्ने गरी मानव संशाधन मन्त्रालय र गृह मन्त्रालयको विभिन्न तहमा अध्ययन र छलफल भइरहेको जानकारी उहाँहरूले दिनुभयो।”
“मन्त्रीस्तरीय छलफल समेत गरी यो समस्यालाई चाँडै नै सुल्झाउन उहाँहरू सहमत हुनुहुन्छ।”
छलफलमा कामदार भर्ना र व्यवस्थापन प्रक्रियालाई पारदर्शी बनाउन र श्रम सम्झौता गर्ने विषयमा समेत मलेशियाली पक्ष सकारात्मक रहेको बताइएको छ।
नेपाली कामदारबाट चर्को शुल्क असुल्ने कार्यमा मलेशिया र नेपालकै कतिपय प्रभावशाली नेता र व्यवसायीहरूको मिलेमतो रहेको विवरण सार्वजनिक भएपछि केही मलेशियाली सांसदहरूले यसबारे छानबिन गर्न सरकारसँग माग गरिसकेका छन्।