Prakash Adhikari May 8, 2025

कोलकोता(पश्चिम बंगाल, भारत), २५ वैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत बुधवार राती भएको खेलमा कोलकोता नाइट राइडर्सलाई लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्सले पराजित गरेको छ। घरेलु मैदानको यो पराजयले कोलकोताको प्लेअफ संभावना कठिन बनाएको छ ।

चेन्नईले २ बल अगाडि २ विकेटको जित निकाल्यो। यो हारले कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ।

जितको लागि कोलकोताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ८ विकेटको क्षतिमा हासिल गर्यो।

ओपनर आयुष महतरा र डेभोन कनवे शुन्यमा आउट भए। यसपछि उर्भिल पटेल ३१ रनमा, रविचन्द्र आश्विन ८ रनमा र रविन्द्र जडेजा १९ रनमा पबिलियन फर्किए। ५ विकेटको नोक्सानीमा चेन्नईले ६० रन मात्र जोड्यो।

यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबेले छैटौं विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासे। अर्धशतक बनाएका ब्रेभिसले २५ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ८ बलबाट १० रन चाहिंदा क्रिजमा टिकेका शिवम ४४ रनमा आउट भए। उनलाई वैभव अरोराले आउट गरे।

त्यसपछि अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिंदा अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै जितलाई सहज बनाए। धोनीले अविजित १७ र अंशुलले अविजित ४ रन बनाएर चेन्नईलाई जित दिलाए।

कोलकोताको बलिङमा वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर ३ विकेट लिए। हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। कप्तान अजिन्के राहनेले सर्वाधिक ४८ रन जोडे।उनले ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसेलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे‌। सुनिल नराइनले २६ रन बनाए।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

कोलकाता ११ अंक सहित लिग तालिकाको छैटौं स्थानमा छ। यो सँगै उसको प्ले अफ यात्रा अत्यन्त अनिश्चित बनेको छ। गणितीय आधार मात्र बाँकी छ। चेन्नईले तेस्रो जितमा ६ अंक बनाएको छ।

Share Now