Prakash Adhikari May 9, 2025
नयाँदिल्ली, २६ वैशाख (रासस/एएफपी) । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ ।
“प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भन्नुभयो, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।”
अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी२० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर (१२५ माइल) भन्दा कम दूरीमा छ । जम्मूमा केहीघण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।
शुक्रबार आणविक–सशस्त्र यी दुई छिमेकी बीचको लडाइँको तेस्रो दिनमा भारतले रातभरि पाकिस्तानी ड्रोन र तोपखाना आक्रमणलाई परास्त पारेको बताएको छ ।
पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !”
यो खाताले सशस्त्र सेनाको तस्वीर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’
दश टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।
लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई आतिथ्यता गर्ने तालिका थियो ।
फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठूलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।
विदेशी स्टारहरू मध्ये अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्श हुनुहुन्छ भने पूर्व कप्तान रिकी पोन्टिङले पञ्जाबलाई प्रशिक्षण दिइरहनुभएको छ ।
क्रिकेट अस्ट्रेलियाले स्थगन समाचारअघि शुक्रबार एक वक्तव्यमा भनेको छ, “हामी पाकिस्तान र भारतमा स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ… र हाल क्षेत्रमा रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ ।”
पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी२० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ ।
भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।
नयाँदिल्लीले दुई हप्ताअघि भारत–नियन्त्रित काश्मीरमा भएको घातक आक्रमणको बदलामा बुधबार बिहान मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ ।
इस्लामाबादले कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।
दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
Share Now