Prakash Adhikari July 25, 2018

 

लण्डन(संयुक्त अधिराज्य) , ९ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई २ सय २३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याएको इस्ट लन्डनले ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन मात्र जोड्न सक्यो।

इन्ट लन्डनलाई सस्तैमा समेट्न नेपालका भेट्रान स्पिनर शक्ति गौचनले ४ तथा करण केसी र ललित राजबंशीले २-२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो।

नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले। १ सय १८ बल खेलेका उनले १९ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३१ रन जोडे।

यस्तै शरद भेषवाकरले ९८ रन बनाएका थिए। उनले ८६ बल खेल्दै ६ छक्का र ६ चौका प्रहार गरेका थिए।

खेलमा सोमपाल कामीले २९ रन जोड्दा करण केसी १३ रनमा नटआउट रहे। यसअघि ओपनर सुवास खकुरेलले ८ रन बनाए भने ज्ञानेन्द्र मल्ल ९ तथा कप्तान पारस खड्काले ४ रन जोडेका थिए।

दिपेन्द्र सिंह ऐरी ० रनमा आउट भए भने रोहित पौडेल ११ र शक्ति गौचनले ९ रन थपेका थिए।

इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिए ।

इंग्ल्यान्डको लर्ड्समा आइतबार हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि नेपाली क्रिकेट टिम अहिले युरोप भ्रमणमा रहेको छ।

यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो भने दोस्रो अभ्यास खेलमा सेन्ट क्रससंग १९ रनले नेपाल पराजित भएको थियो।

इष्ट लन्डनपछि अब नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसँग बिहिबार टी-ट्वान्टी खेल्नेछ।

एक दिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ।

नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट अगस्ट १ र ३ मा खेल्नेछ।

Share Now

Leave a comment.