काठमाडौँ, ३० वैशाख : पत्रकार एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार संयुक्त राज्य अमेरिकाको हाभर्ड विश्वविद्यालयको ‘उदयमान नेता’ कार्यक्रमका लागि छनोट हुनुभएको छ ।
विश्वको प्रतिष्ठित हाभर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि बनाएको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा यस वर्ष सन् २०२५ का लागि नेपालबाट परियार छनोट हुनुभएको हो ।
उक्त कार्यक्रमका लागि आफू अहिले बोष्टनमा रहेको हाभर्ड विश्वविद्यालयको हाभर्ड केनेडी स्कुलमा अध्ययनरत रहेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा विश्वको राजनीतिक परिवेश, राजनीतिक मुद्दाहरू, एजेण्ड छनोट, राजनीतिमा टेक्नोलोजीको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्ट, द्वन्द्व व्यवस्थापनलगायत विविध विषयमा हाभर्ड विश्वविद्यालयका प्राध्यापकहरूको अध्यापन गराउनुहुनेछ । कार्यक्रममा विभिन्न देशका ५० जना सहभागी हुनुहुन्छ ।
यो कार्यक्रममा लागि विश्वका विभिन्न देशका राजनीतिकर्मी, सरकारी उच्च पदमा रहेका व्यक्तिहरूका साथै विभिन्न निजि क्षेत्रको कार्यकारी पदमा बसेका व्यक्तिहरूको सहभागिता रहने गरेको छ ।
पत्रकार परियार यसअघि सभापति देउवा प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रेस सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । कांग्रेसको महासमिति सदस्य समेत रहेका परियार पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय विभागको सदस्य पनि हुनुहुन्छ ।
समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँले यसअघि अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिकाको ओहायो विश्वविद्यालयबाट अमेरिकन मिडिया र सञ्चार अध्ययन गर्नुभएको थियोे ।


















