Prakash Adhikari May 14, 2025

काठमाडौँ, ३१ वैशाख : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताउनुभएको छ । उहाँले फेसबुक सटाट्समार्फत भन्नुभएको छ, “यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।”

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताउनुभएको छ ।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँले सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताउनुभयो । सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश हुनुहुन्थ्यो । यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक रू एक लाख प्राप्त गर्दै आएका छन् ।

Image

 

सुझबुझपूर्ण निर्णय हो कि सनक ?

गौशाला प्रकरणमा फसेपछि नेपालका उम्दा क्रिकेटर सन्दीप पुरानो लयमा आउन सक्नुभएको छैन । कहिले सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा शुभचिन्तक दर्शकहरुले सद्भावपूर्ण टिप्पणी गर्दा उहाँ विवादमा आउनु भयो भने जय ट्रफीमा एम्पाएरको निर्णय क्षमतामा प्रश्न उठाए वापत एक प्रतियोगिता भर निलम्बित हुँदा यसपटकको पीएम क्रिकेट कपमा उहाँ सहभागी हुन पाउनुभएन ।

अहिले आईसीसी क्रिकेट लिग टू मा खेल्ने टोली घोषणा भैसकेको अवस्थामा आएको उहाँको यो निर्णयलाई क्यानले कुन रुपमा लिने हो भन्न यसै सकिदैन ।

Share Now