बैंकक(थाइल्याण्ड), २ जेठ । आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण हुन नस्कदा नेपाल सुपर थ्री मा प्रवेश गरेको छ ।
विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो ।नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक जोड्यो ।
हङकङ र बहराइनको खेल वर्षाले रद्द हुँदा ४ खेलमा हङकङको पनि ५ अंक पुग्यो । तर नेपालले २ खेल जितेको र हङकङले मात्र १ खेल जितेका कारण नेपाल अंक तालिकाको शीर्ष स्थानमा रह्यो । बहराइनको ४ खेलमा २ अंक छ ।
छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्ने प्रावधान अनुसार नेपाल, यूएई र थाइल्यान्डले सुपर थ्रीमा खेल्नेछन् ।
सुपर थ्रीमा सबैले एक अर्कासँग १ पटक खेल्नेछन् भने पहिलो चरणको अंक पनि जोडिनेछ । शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।


















