Prakash Adhikari May 20, 2025

 

बैंकक(थाइल्याण्ड), ६ जेठ । घरेलु मैदानमा भएको आइसीसी महिला टी २० विश्वकप एसिया छनोटको उपाधि थाइल्याण्डले जितेको छ।

नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो।

ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाई क्रिकेट मैदानमा १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो।

नेपालको आज बलिड. पनि जमेन र ब्याटिड. पनि खत्तम भयो । ब्याटिड.मा नेपालले कमजोर सुरुवात गर्यो। ३१ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो।

खेलमा ओपनरद्वय सम्झना खड्का ९ रनमा र रुवी पोदार ४ रनमा आउट भए। कप्तान इन्दु बर्मा ७ रनमा तथा उपकप्तान पूजा महतो रनको खाता नखोली आउट भइन्। यसपछि पनि नेपाल सम्हालिन सकेन।

कविता कुँवरले ३३ बलमा सर्वाधिक २४ रन जोडिन्। राजमति ऐेरीले २० रन र रुविना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई रोक्ने क्रममा बलिङमा ओनिचा कामछोम्पुले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिइन्। थिपाट्चा पुथाओङले पनि ४ ओभरमा १ मेडन सहित १४ रन मात्र दिएर ३ विकेट आफ्नो नाममा लेखाइन्।

त्यसअघि नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो ।
थाइल्याण्डलाई रोक्ने क्रममा नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १(१ विकेट लिए ।

नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।

नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् ।

तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्ड आजको जितपछि १० अंक सहित च्याम्पियन बन्यो। नेपालको कुल ७ अंक जोड्यो।

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।

Share Now