लखनउ(उत्तर प्रदेश,भारत), १० जेठ । इन्डियन प्रिमियर लिग (आइपीएाल) अन्तरगत शुक्रबार भएको खेलमा सन राइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)लाई पराजित गरेको छ।
आइपीएलको प्ले अफबाट बाहिरिसकेको सनराइजर्स हैदराबादले आरसीबीलाई ४२ रनले हराएको थियो।
२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसिबीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो ।
यसअघि नै प्ले अफमा पुगिसकेको आरसीबीको पहिलो विकेटका लागि फिल साल्ट र विराट कोहलीले ८० रनको साझेदारी गरेका थिए ।
साल्टले अर्धश बनाएका थिए । ३२ बलमा ४ चौका र ५ छक्कासहित उनले ६२ रन बनाए । कोहलीले २५ बलमा ७ चौका र १ छक्काका साथ ४३ रन जोडेका थिए।
जितेश शर्माले २४, रजत पाटिदारले १८ र मयंक अग्रवालले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलुरुलाई रोक्ने क्रममा हैदराबादका कप्तान प्याट कमिन्सले ३, इशान मालिंगाले २ विकेट लिएका थिए।
त्यसअघि आरसीबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो ।
टोलीका इशान किशनले ४८ बल खेल्दै ७ चौका र ५ छक्कासहित अविजित ९४ रनको योगदान दिएका थिए ।
अभिषेक शर्माले ३४ रन जोड्दा अनिकेत बर्माले ३५ रन बनाएका थिए । यसैगरी हेनरिक क्लासेनले २४ रन थपेका थिए ।
सन राइजर्सलाई रोक्ने क्रममा आरसीबीका रोमारियो सेपर्डले २, भुवनेश्वर कुमार, लुङ्गी एनगिडी र सुयश शर्माले समान १ । १ विकेट लिएका थिए ।
पहिलो क्वालिफायर पुग्ने आरसीबीको योजनामा धक्का लागेको छ । अंक तालिकामा आरसीबी १७ अंक सहित तेस्रो स्थानमा छ। समान अंकको पन्जाब किङ्स दोस्रो र १८ अंकसहित गुजरात टाइटन्स शीर्ष स्थानमा छ।


















