Prakash Adhikari May 25, 2025

 

अहमदाबाद(गुजरात,भारत), ११ जेठ(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार सम्पन्न खेलमा चेन्नई सुपर किंग्ससंग अंक तालिको शीर्षमा रहेको गुजरात टाइटन्स पराजित भएको छ । पहिल्यै दोस्रो चरण प्रवेशको दौडबाट बाहिरिसकेको चेन्नई सुपर किंग्स्ले अन्तिम खेलमा विजय हासिल गर्दै यो सिजनको सुखद् समापन गरेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आज भएको पहिलो खेलमा चेन्नई ८३ रनले विजयी भयो ।

२ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । गुजरातका ओपनर साई सुदर्शनले २८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे ।

शाहरुख खान १५ बलमा १९, कप्तान शुभमन गिल १३ तथा राशिद खान १२ रनमा आउट भए । राहुल तेवातिया १४ र अर्शद खान २० रनमा आउट भए ।

चेन्नईका अन्शुल कम्बोज र नुर अहमदले समान ३, रविन्द्र जडेजाले २ तथा मथिशा पथिराना र खलिल अहमदले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

चेन्नईका लागि डेवाल्ड ब्रेभिस र डेभोन कन्वेले अर्धशतक बनाए । ब्रेभिसले २३ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए ।

कन्वेले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । उर्विल पटेल १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।

ओपनर आयुष महेत्र १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३४ रनमा आउट भए । शिभम दुवेले ८ बलमा १७ रन बनाए । रविन्द्र जडेजा १८ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रनमा अविजित रहे ।

गुजरातका लागि प्रसिद्ध कृष्णाले २ तथा साई किशोर, राशिद खान र साहरुख खानले समान १ विकेट लिए ।

गुजरात अझै पनि १८ अंकसहित लिग चरणको शीर्ष स्थानमा छ तर दोस्रो स्थानमा रहेको पञ्जाब, बंगलुरु दुवैको १७ अंक छ र उनीहरुले एक एक खेल खेल्न बाँकी नै छ । त्यस्तै १६ अंकसहित चौथो स्थानमा रहेको मुम्बई इण्डियन्सले पनि एक खेल खेल्न बाँकी छ ।

जितका साथ सिजनको समाप्ति गरेको चेन्नई लिगको अन्तिम स्थानमा छ ।

Share Now