पोखरा (कास्की), १२ जेठ । नवौं पीएम कप एनभीए लिगमा आज भएको खेलमा महिलातर्फ नेपाल पुलिस र एभेष्ट विजयी भएका छन् ।
खेलमा साविक विजेता नेपाल पुलिस क्लबले महिलातर्फ लगातार चौंथो जित निकालेको छ।
आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो ।
यो जितमा पुलिसले २ अंक जोड्यो। पुलिस ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ। ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ।
आर्मीले ४ खेलमा मात्र १ अंक बनाएको छ। आर्मीले एक खेल पनि जित्न सकेको छैन्। सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ।
पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।
आज बिहान भएको खेलमा एभरेष्टले कर्णाली लाई ३-० को सोझो सेटमा हरायो।
थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो।
न्यु डायमण्ड, तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ ।


















