Prakash Adhikari May 27, 2025

लखनउ(उत्तर प्रदेश), १४ जेठ(एजेन्सी)लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा पुगेको छ ।

लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार भएको खेलमा आरसीबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसीबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आरसीबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले । कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे ।

मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे । पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे ।

ओपनर फिल साल्ट १९ बलमा ३० तथा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस आरसीबीले टस जितेर ब्याटिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ खेले । पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए ।

पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे । मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेले ।

अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १२ बलमा १४ रन बनाए । निकोलस पुरन १० बलमा १ चौकाको सहयोगमा १३ रनमा आउट भए । आरसिबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

लखनउ प्लेअफबाट बाहिरिसकेको थियो । विजयी आरसीबीले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि आरसीबीले बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ ।

आरसीबीको जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएको छ । गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ ।‌

Share Now