Prakash Adhikari May 30, 2025

-साक्षी वेन्कटरमण । बीबीसी न्यूज

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १६ जेठ । राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक ढङ्गले खारेज गर्ने बताएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका अथवा संवेदनशील क्षेत्रमा अध्ययनरतहरूको हकमा उक्त कुरा लागु हुने अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एउटा वक्तव्यमार्फत्‌ बताउनुभएको छ।

रुबिओका अनुसार चीन र हङ्‌कङबाट भविष्यमा भिसाका लागि आवेदन दिनेहरूको हकमा ूनिगरानी बढाउन विद्यमान मापदण्डको पुनरवलोकन पनि गरिने छ।

ट्रम्पले आयात शुल्क बढाएपश्चात्‌ चीनले पनि जबाफी कदम चालेपछि दुई शक्ति राष्ट्रहरूबीच पछिल्ला महिनामा सुरु भएको व्यापार युद्धले बेइजिङ्ग र वाशिङ्टनको सम्बन्ध बिग्रेको छ।

यसअघि सोमवार रुबिओले विदेशस्थित अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाको अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न र सामाजिक सञ्जालको निगरानी विस्तार गर्न आदेश दिनुभएको थियो।

मापदण्ड पुनरवलोकन

गत वर्षको तथ्याङ्कअनुसार अमेरिकामा करिब २ लाख ८० हजार चिनियाँ विद्यार्थी अध्ययनरत छन्।

अमेरिकी विश्वविद्यालयहरूमा ठूलो सङ्ख्यामा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा चिनियाँ पर्छन्, हुन त पछिल्लो समयमा यसमा परिवर्तन देखिएको छ।

अमेरिकी विदेश मन्त्रालयको तथ्याङ्कअनुसार कोभिड महामारीपछि चालिएका प्रतिबन्धात्मक कदमदेखि दुई देशबीच बढ्दो तिक्ततामाझ चिनियाँ विद्यार्थीको सङ्ख्यामा गिरावट आएको छ।

रुबिओले बुधवारको वक्तव्यमा भनेका छन्, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकी विदेश मन्त्रालयले होमल्यान्ड सेक्युरिटी मन्त्रालयसँग मिलेर चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका अथवा संवेदनशील क्षेत्रमा अध्ययनरतसहितका चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक ढङ्गले खारेज गर्ने छ।”

“गणतान्त्रिक चीन र हङ्‌कङका सबै भावी भिसा आवेदकहरूको निगरानी गर्ने मापदण्डको पुनरवलोकन पनि हामीले गर्ने छौँ।”

ट्रम्प्र प्रशासनले थुप्रै विदेशी विद्यार्थीहरूलाई देश निकाला गर्न थालिसकेको छ भने अन्य हजारौँका भिसा खारेज गरिरहेको छ। तीमध्ये धेरै कदम अदालतहरूले रोकिसकेका छन्।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरूलाई दिने गरेका लाखौँ रकम पनि रोक्का गरिदिएको छ।

‘निर्णयप्रति पछुतो’

कतिपय त्यस्ता कलेजहरूले यहुदीविरोधी भावनालाई क्याम्पसमा प्रश्रय दिएको अनि कतिपयले भेदभावपूर्ण भर्ना नीति अँगालेको ट्रम्पले भन्दै आएका छन्।

कैयौँ अमेरिकी शैक्षिक संस्थाहरू तिनको आम्दानीको उल्लेखनीय हिस्साका निम्ति विदेशी विद्यार्थीमा निर्भर हुन्छन् किनकि तिनले प्रायः उच्च शुल्क तिर्छन्।

भिसासम्बन्धी परिवर्तनका कारण थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा अन्योल सिर्जना भएको छ।

तीमध्ये कतिपयले पढ्नका लागि अमेरिका लागि अमेरिका नरोजेको भए हुन्थ्यो भनी प्रतिक्रिया बीबीसीलाई दिएका छन्।

‘मलाई मेरो निर्णयप्रति त पछुतो हुन थालेको छ’, स्नातक तहका २२ वर्षीय शाङ्घाईका विद्यार्थीले भने। पेन्सिल्भेनिया विश्वविद्यालयमा पढ्न चाहेका ती विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा भने।

तोकेरै चिनियाँ विद्यार्थीहरूको भिसा खारेज गर्ने अमेरिकी योजनाप्रति बेइजिङले अहिलेसम्म प्रतिक्रिया जनाइसकेको छैन।

दुईबीच आरोपप्रत्यारोप

तर विद्यार्थीहरूको अन्तर्वार्ताको समय रोक्ने निर्णयप्रति चाहिँ चीनले प्रतिक्रिया जनाइसकेको छ।

“हामी अमेरिकी पक्षलाई चिनियाँसहितका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका वैध अधिकार र हितको गम्भीर रूपमा सुरक्षा गर्न आग्रह गर्छौँ”, एक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ।

केही अमेरिकी विश्वविद्यालयले तिनका क्याम्पसमा यहुदीविरोधीहरूलाई प्यालेस्टीनी समर्थक कार्य गर्न छुट दिएको ह्वाइट हाउसले आरोप लगाउँदै आएको छ।

ती कलेजहरूले भने ट्रम्प प्रशासनले वाक्‌स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाइरहेका छन्। राष्ट्रपति ट्रम्पको आक्रोशको निसानामा हार्भर्ड विश्वविद्यालय परेको छ।

गत साता ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी शोधकर्तालाई भर्ना लिन सक्ने हार्भर्डको क्षमतामा रोक लगाइदियो। तर सङ्घीय न्यायाधीशले प्रशासनको निर्णयमा रोक लगाइदिएका छन्।

यदि प्रशासनको निर्णय लागु भयो भने त्यसले एक चौथाइ विद्यार्थी विदेशी रहने उक्त विश्वविद्यालयलाई गम्भीर धक्का पुग्न सक्छ।

Share Now