Prakash Adhikari June 3, 2025

अहमदावाद(गुजरात), २० जेठ (एजेन्सी ) । इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।

आरसीबीका पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे ।

ओपनर फिल साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भए ।

पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ । १ विकेट लिए ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसीबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसीबीले फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसीबीसँगको भेट पक्का गरेको थियो ।

आइपीएलको जारी १८औं संस्करणमा आरसीबी र पञ्जाबबीच यो चौथो भेट हो । यसअघिका ३ भेटमा २ पटक आरसीबी र १ पटक पञ्जाब विजयी भएको थियो ।

पञ्जाब र आरसीबी जो‌ जितेपनि पहिलो पटक च्याम्पियन बन्नेछ । यस फाइनल पश्चात आइपीएलले ८औं च्याम्पियन टिम पाउने छ । यसअघि ७ टोलीले आइपीएल जितेको छ।

आरसीबी चौथो पटक फाइनल खेल्दैछ । यसअघि फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

आरसिबीले पछिल्लो फाइनल खेलेका विराट कोहली मात्र अहिलेको टोलीमा छन् । पञ्जाब दोस्रो पटक फाइनलमा खेल्दैछ। २०१४ को फाइनलमा पञ्जाबलाई कोलकाता नाइटराइडर्सले हराएको थियो । त्यो फाइनल खेलेका कुनै खेलाडी अहिले पञ्जाब टोलीमा छैनन् ।

आरसीबी र पञ्जाबबीच हालसम्म ३६ खेल भएको छ । पञ्जाब र आरसबिी समान १८ खेलमा विजयी भएको छ। नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आरसीबी र पञ्जाबबीच यसअघि १ खेल भएको थियो । २०२१ मा भएको त्यो खेलमा पञ्जाब ३४ रनले विजयी भएको थियो

Share Now