Prakash Adhikari June 11, 2025

काठमाडौँ, २८ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रङ्गशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णाधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो । उहाँले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भन्नुभयो, “यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीयस्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ ।”

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको जनाउँदै अनुपम भौगोलिक विशेषताअनुसारका साहसिक खेलप्रति विश्वजगत्को आकर्षणलाई मध्यनजर गरी यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको जनाउँदै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तरराष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुसीको विषय भएको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गए पनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तरराष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा सरकारले काम गर्दै आएको बताउनुभयो । यस प्रतियोगिताबाट खेलाडीको उत्पादन हुनुका साथै खेलाडीको प्रतिभासमेत प्रस्फुटन हुने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि खेलाडी सहभागी भएकामा खुसी व्यक्त गर्नुभयो । आजदेखि सुरु भएको पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ । उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल समावेश गरिएको छ ।

Share Now