-लाना ल्याम र टिफनी टर्नबुल /बीबीसी न्यूज
सिड्नी(अष्ट्रेलिया), ३० जेठ । अस्ट्रेलिया र यूकेसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई अमेरिका पहिले भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ।
त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जबाफको रूपमा हेरिएको थियो। अस्ट्रेलिया(यूके(यूएस वा छोटकरीमा ुओकसु नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो।
साथै तीन साझेदारले अत्याधुनिक प्रविधि आपसमा बाँडेर नयाँ नौसैनिक फ्लीट तयार गर्ने थिए।
नयाँ प्रशासनले स्वाभाविक रूपमा पुराना सम्झौता समीक्षा गर्छ भन्दै अस्ट्रेलिया र यूकेले पछिल्लो समाचारबाट धेरै चिन्तित नभएको जनाएका छन्। यूकेले पनि गत वर्ष त्यसको समीक्षा गरेको थियो।
अस्ट्रेलियालाई दबाव
ह्वाइट हाउसले अस्ट्रेलियालाई उसको रक्षा खर्च बढाएर जीडीपीको २ प्रतिशतबाट ३.५ प्रतिशत पुर्याउन दबाव दिइरहेको छ।
हालसम्म क्यानबेराले त्यसमा सहमति जनाइसकेको छैन।
२३९ अर्ब डलर बराबरको उक्त सम्झौता सन् २०२१ मा हस्ताक्षर हुँदा तीनवटै देशमा अहिलेका भन्दा फरक नेताहरू थिए।
“अघिल्लो प्रशासनले अघि बढाएको ओकस सम्झौता राष्ट्रपति ट्रम्पको अमेरिका पहिले भन्ने अजेन्डासँग अनुकूल छ कि छैन भनेर समीक्षा गरिँदैछ”,अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भन्नुभयो।
“रक्षामन्त्री पिट हेग्सेथले स्पष्ट पारेजस्तै यसको उद्देश्य भनेको हाम्रा फौजलाई उच्च तयारीका अवस्थामा राख्नु अनि साझेदारहरूले सामूहिक रक्षाका निम्ति तिनको जिम्मा पूरा गरेको निश्चित् गर्नु रहेको छ”, उहाँले भन्नुभयो।
समीक्षाको जिम्मा एल्ब्रिज कोल्बीलाई दिइएको छ जसले विगतमा ओकस सम्झौताको आलोचना गरेका थिए। गत वर्ष एक सम्बोधनमा कोल्बीले “अमेरिकाले आफ्नो ‘क्राउन जुअल्स’ रहँदै आएको महत्त्वपूर्ण क्षमता किन अरूलाई दिने जबकि त्यो आफैँलाई एकदम आवश्यक बनिरहेको छ” भनेर टिप्पणी गर्नुभएको थियो।
यसबीच अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लसले बिहीवार बिहान स्थानीय सञ्चारमाध्यमसँग बोल्दै सो सम्झौता जारी रहनेमा आफू आशावादी भएको बताउनुभयो ।
“यो अघि बढ्छ भन्नेमा म विश्वस्त छु”, एबीसी रेडियो मेल्बोर्नसँग बोल्दै उहाँले भन्नुभयो,”तपाईँले नक्सा हेर्ने बित्तिकै बुझ्नु हुन्छ कि लामो दूरीको पनडुब्बी क्षमता अस्ट्रेलियालाई किन अत्यावश्यक छ।”
अस्ट्रेलियामा कतिपय विश्लेषकहरूले चाहिँ उक्त देशले स्वतन्त्र सुरक्षा रणनीति निर्माण गर्नु पर्ने पैरवी गर्दै आएका छन्।
तर मार्लसले ुएउटा योजनामा अडिगु हुन जरुरी रहेको भने। विगतमा ओकसका निम्ति अस्ट्रेलियाले फ्रान्ससँगको पनडुब्बी सम्झौता रद्द गरेको प्रति उहाँले सङ्केत गर्नुभएको थियो।
अस्ट्रेलियाली सरकारका एक प्रवक्ताले यूकेले पनि हालै समीक्षा सम्पन्न गरेको भन्दै अमेरिकी नयाँ प्रशासनले समीक्षा गरेकोलाई स्वाभाविक मान्नु पर्ने बताउनुभयो।
यूके रक्षा प्रवक्ताले बीबीसीसँग कुरा गर्दै आफ्नो देशले गत वर्ष गरेजस्तै अमेरिकाको नयाँ प्रशासनले समीक्षाको आदेश दिएको बुझ्न सकिने बताउनुभयो।
उहाँले ओकसलाई निकटतम साझेदारहरू माझको महत्त्वपूर्ण सुरक्षा साझेदारी भन्दै त्यसले इन्डोप्यासिफिक तथा युरोएटलान्टिक क्षेत्रमा शान्ति र सुरक्षा सुदृढ बनाउने बताउनुभयो।
अमेरिकी संस्था डिफेन्स प्रायोरिटिजकी जेनिफर क्याभनले आफ्नै पनडुब्बी क्षमता विस्तार गर्न नसकिरहेका बेला अमेरिकाले यो सम्झौताको समीक्षा गर्न आदेश दिनु बिल्कुल सही भएको बताउनुभयो।
“परमाणु शक्तिका पनडुब्बीबारे आन्तरिक माग नै अमेरिकाले पूरा गर्न सकेको छैन”, उहाँले भन्नुभयो।
अमेरिकाको अर्को चिन्ता चाहिँ क्यानबेराले किनेका पनडुब्बीलाई उसले वाशिङ्टनले चाहेजसरी प्रयोग गर्ला कि नगर्ला भन्ने रहेको उहाँले बताउनुभयो।
समीक्षाले ओकस सम्झौताको ध्यानलाई पनडुब्बीबाट अन्यत्र मोड्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।
तर यदि अमेरिकाले सम्झौताबाट हात झिकेमा उक्त सम्झौतालाई सुरुदेखि निन्दा गर्दै आएको चीनले उत्सव मनाउने उहाँले बताउनुभयो।
के हो ओकस ?
अस्ट्रेलियाका निम्ति यो सम्झौताले उसको सैन्य क्षमता विकास हुने ठानेको छ। वाशिङ्टनको न्यूक्लियर प्रपल्सन प्रविधि पाउने यूकेपछिको ऊ दोस्रो देश बन्ने छ।
विद्यमान डिजल इञ्जिनका फ्लीटभन्दा त्यस्ता पनडुब्बी धेरै टाढा अनि द्रुत गतिमा सञ्चालन हुन सक्छन्। यसले पहिलोपल्ट अस्ट्रेलियालाई दुस्मनविरुद्ध लामो दूरीको प्रहार गर्न सक्षम बनाउनेछ।
आफ्नो रक्षा प्रविधिको अति महत्त्वपूर्ण ‘क्राउन जुअल्स’का रूपमा अमेरिकाले मान्ने ती प्रविधि उसले अरूलाई दिनु भनेको साँच्चिकै ठूलो कुरा हो।
अस्ट्रेलियाको अस्त्र क्षमता सुदृढ पार्ने कार्यलाई वाशिङ्टन र डाउनिङ् स्ट्रिट दुवैले, विगतदेखि नै, आफूहरू सोझै उपस्थित नभएको क्षेत्रमा शान्ति बनाइराख्न आवश्यक कार्य मान्ने गरेका छन्।
सन् २०२७ देखि उक्त सम्झौताले पश्चिम अस्ट्रेलियाको पर्थमा अमेरिका र यूकेलाई सानो सङ्ख्यामा तिनका परमाणु पनडुब्बी तैनाथ गराउन अनुमति दिन्छ।
साथै अहिले निश्चित नगरिएको तर सन् २०३०को दशकको सुरुको कुनै मितिमा क्यान्बेराले अमेरिकासँग तीनवटा सेकेन्ड ह्यान्ड भर्जिनिया क्लास पनडुब्बी किन्ने छ। थप दुईवटा किन्ने विकल्प पनि खुला रहनेछ।
त्यसपछि यूके र अस्ट्रेलियाली नौसेनाका निम्ति परमाणु पनडुब्बीका बिल्कुल नयाँ फ्लीट डिजाइन र निर्माण गर्ने योजना रहेको छ।
ती आक्रामक पनडुब्बीहरू ब्रिटिश डिजाइन तथा त्रिदेशीय प्रविधिमा आधारित भएर ब्रिटेन र अस्ट्रेलियामा निर्माण गरिने छन्।
यो ओकस सुरक्षा गठबन्धनले शस्त्रअस्त्र होडबाजी निम्त्याउने भन्दै चीनले बारम्बार आलोचना गर्दै आएको छ।


















