काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक आजदेखि सञ्चालन भएको छ ।
प्रतिनिधिसभाको आज बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध गरिहरनुभएको थियो । त्यसलगत्तै सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिनुभयो ।
विपक्षी दलका प्रमुख सचेतक पाण्डेले यही जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका बेथिति, भ्रष्टाचार, मानव तस्करी र विकृतिका विषयमा निरन्तर आवाज उठाउँदै आएको र त्यसको छानबिन गर्न माग गर्नुभयो ।
“अध्यागमन कार्यालय र भिजिट भिसाको विषयमा नीतिगत, कानुनी र संरचनागत सुधार गरी बदमासी गर्नेलाई उचित कारबाही गर्न अध्ययन छानबिन समिति गठन गर्न सरकारसँग माग गर्छु”, उहाँले भन्नुभयो, “अध्यागमन र भिजिट भिसा आमजनताको समस्याका रूपमा आएको छ, यसलाई निराकरण गरेर अघि बढ्ने मूल विषय हो, जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न जरुरी छ ।”
सांसद पाण्डेले विपक्षीले राखेका सवाललाई नेपाल सरकारले विश्वस्त हुनेगरी सदनमा र व्यवहारमा देखाउने विश्वासका साथ सदनलाई सञ्चालन गर्ने सहमति गरेको जानकारी दिनुभयो ।
“आफ्नो रोजगारीको समस्याका कारण विदेश जान लागेका नेपाली दिदीबहिनी दाजुभाइहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत सरकारी कार्यालयबाट गैरकानुनी रूपमा मिलेमतो गरेको देखियो”, सांसद पाण्डेले भन्नुभयो, “भिजिट भिसामार्फत मानव तस्करीजस्ता गम्भीर विषय सार्वजनिक भएको छ, यसले देशको छविमा गम्भीर असर परेको छ ।”
सांसद पाण्डेले अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारी कर्मचारी, ट्राभल ऐजेन्सी, म्यानपावर कम्पनी र एयरलायन्स आदिबारे सत्यतथ्य पत्ता लगाई दोषीउपर कडा कानुनी कारबाही गर्न माग गर्नुभयो ।
अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छु : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।”
भिजिट भिसासम्बन्धी प्रणाली विगत लामो समयदेखि लागू हुँदै आएको जानकारी दिँदै उहाँले आफ्नो कार्यकालभन्दा अघिल्ला मन्त्रीका पालामा बढी व्यक्ति भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले राजनीतिक चरित्रहत्या र राजनीतिक प्रतिशोध पूरा गर्नका लागि उठाइएका विषय हुन्, यस्ता निकृष्ट खाले प्रवृत्ति अन्त्य गर्नुस् म यो चाहन्छु ।”
संवैधानिक निकायले छानबिन गरिराखेको अवस्थालाई सरकारसँग जोड्ने हो भने विगतमा कति मन्त्रीहरूले राजीनामा र जवाफ दिनुभएको थियो भनी प्रश्न गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
लोकतन्त्र र विधिको शासनलाई सुदृढ तुल्याउन आफू निरन्तर लागिरहेको जनाउँदै गृहमन्त्री लेखकले आयोगको छानबिन र कारबाहीलाई कसैले पनि प्रभावित हुन दिन नहुने बताउनुभयो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगले बोलाएको विषय सञ्चारमाध्यमबाटै थाहा पाएको उहाँले स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले अध्यागमन विषयमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचना गत सुधारका एक महिनाभित्रै काम थालनी गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “संसद् सञ्चालनका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीचमा भएको सहमतिलाई स्वागत र हृदयगम गर्दै अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।”
बैठक चल्दै गर्दा रास्वपा र राप्रपाका सांसदहरूले भने नाराबाजी गर्दै ‘रोष्ट्रम’ घेराउ गर्नुभएको थियो ।


















