काठमाडौं, १ असार । असार महिना र साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार हरियो बनेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन बढेर बन्द हुनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् ।
आइतबार नेप्से परिसूचक ०.४७ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको भन्दा घटेको छ। गत बिहीबार साढे १२ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ८ स्टकको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयरको खरिद बिक्रीमा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रो पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८९ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ८७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ६४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।


















