Prakash Adhikari June 16, 2025

 

ग्लास्गो (स्कटल्याण्ड), २ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

स्कटल्याण्डको ग्लास्गोमा भैरहेको त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखलामा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोडेको छ ।

नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गर्न सम्भव भएको थियो ।

ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए । ललितले चौथो ओभरको पहिलो बलमै ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका म्याक्सलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीपले सातौं ओभरमा लेभिट र स्कट एड्वार्ड्स ९१० लाई आउट गरेर नेपाललाई खेलमा फर्काए ।

१३ औं ओभरमा नोआ क्रोस आउट हुँदा नेदरल्यान्ड्स ९०(५ को स्थितिमा थियो । तर डेथ ओभरमा जुल्फिकरले आक्रामक ब्याटिङ गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो । अन्तिम ओभरमा आउट भएका तेजाले ३७ बलमा १ छक्कासहित ३५ रन जोडे । जुल्फिकर १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा नटआउट रहे ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेका थिए । ललित राजवंशीले पनि ४ ओभरमा मात्र २२ रन दिएर १ विकेट हात पारे । नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।

मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने किरणले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं टि २० आई क्याप प्राप्त गरे ।

्र्र

रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले एनपिएलमा भने चोटका कारण जनकपुर बोल्ट्स बिचमै छाडेका थिए । रुपेशले नेपालका लागि ५१ औं क्याप प्राप्त गरेका हुन् ।

सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।

Share Now