Prakash Adhikari July 31, 2018

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सदरमुकाममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वमा रहेको संयुक्त सरकारका विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको विरुद्धमा आयोजना हुने यस विरोध प्रदर्शनमा नेपाली कांग्रेसका सबै तहका संगठनका सदस्य र भातृ एवम् शुभेच्छुक संगठनका सबै तहका सदस्यहरुको उपस्थिति रहने बताउनु भएको छ ।

नेपाली कांग्रेसका नेताहरुले दुई तिहाई भन्दा बढीको समर्थन पाएको वर्तमान सरकार अधिनायकबादी बन्दै गएको आरोप लगाउदै आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको अभियानमा कम्युनिष्टहरुले बहुमत पाए रुन समेत नपाइने बताउनुभएको थियो । निर्वाचनमा बाम गठबन्धनले अत्यधिक बहुमत ल्यायो । सो गठबन्धले सरकार बनाएको साढे पाँच महिना भैसकेको छ ।

यस बीचमा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनका लागि निर्धारण गरिएका स्थानहरु निषेध गर्ने, न्यायालयमा हस्तक्षेप गर्ने, शान्तिपूर्ण विरोध प्रदर्शनमा बल प्रयोग गर्ने, सार्वजनिक प्रशासनमा हस्तक्षेप गर्ने, विश्वविद्यालयमा अनधिकृत रुपमा हस्तक्षेप गर्ने, प्रहरी र सुरक्षाबलमा पनि त्रास देखाउने पूर्ववर्ति सरकारको पालामा भएका नियमित प्रक्रिया अन्तरगतका नियुक्तिहरु खारेज गर्ने लगायतका सुशासन विरोधी गतिविधि गरेको नेपाली कांग्रेसले आरोप लगाउदै आएको छ ।

नेपाली कांग्रेसले नयाँ सरकार आएपछि महंगी बढेको, भ्रष्टाचार बढेको , यातायात व्यवसायी ,निर्माण व्यवसायी, वैदेशिक रोजगार व्यवसायीहरुलाई आतंकित गरिएको, गैरसरकारी संस्थाहरुमा अनावश्यक नियन्त्रण गर्न खोजिएको, निजी क्षेत्रको स्वतन्त्र विकास र प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित गर्न खोजिएको आरोप लगाउदै आएको छ ।

नेपाली कांग्रेसले सरकार विरुद्धको देशव्यापी विरोध प्रदर्शनको चाँजोपाँजो मिलाने जिम्मा यसका ७७ वटै जिल्लाका सभापतिलाई दिएको छ ।

केन्द्रीय सदस्यहरु आफ्नो सुविधा अनुसार गृह जिल्ला वा पायक पर्ने जिल्लाका सदरमुकाममा हुने कार्यक्रममा सहभागी बन्ने जानकारी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायत जिल्लामा नपुग्नुभएका पदाधिकारी र केन्द्रीय सदस्यहरु काठमाडौंको कार्यक्रममा सहभागी हुनुहुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल विरोध प्रदर्शनमा सहभागी हुनका लागि गृहजिल्ला तनहुँ जाने कार्यक्रम छ भने पार्टी नेता कृष्णसिटौला पनि गृहजिल्ला झापा गैसक्नु भएको छ ।

काठमाडौंमा भने नेपाली कांग्रेस काठमाडौं जिल्लाको आयोजनामा २ :३० बजे शान्तिवाटिका रत्नपार्कमा आमसभा हुनेछ ।

नेपाली कांग्रसले वर्तमान सरकारले संविधानलाई पनि बलपूर्वक मिचेको आरोप लगाएको छ । संविधानमा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने स्पष्ट किटानी व्यवस्था छ । तर सत्तारुढ नेकपाले दुवैले पदमा निर्वाचित भैसकेपछि पार्टीबाट राजिनामा दिएकोले दलको कुरा असान्दर्भिक भएको तर्क दिंदै आएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त पार्टीबाट राजिनामा दिएपछि त सांसदै रहन नसक्ने दावी गर्नुभएको छ । सभामुख र उपसभामुख सम्बन्धी संवैधानिक व्यवस्था यस्तो छ ।

९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुख : (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन
गर्नेछन्।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य
प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।
(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन्।
(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ ।
(५) प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।
(६) देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ ः–
(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा, तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्।
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।
(७) प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ।

८९. स्थानको रिक्तता : देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछ :–
(क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
(ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा
सूचित गरेमा,
(च) निजको मृत्यु भएमा ।

यसले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने कांग्रेसको मागको संवैधानिक आधार रहेको देखिन्छ । तर सभामुख कृष्णबहादुर महराले यो विषय अदालतमा पुगिसकेकाले यस विषयमा संसदमा छलफल नहुने बताउनुभएको छ ।

 

Share Now

Leave a comment.