Prakash Adhikari June 22, 2025

क्वाललम्पुर(मलेशिया), ८ आषाढ । एसीसी पुरुष यु १६ क्रिकेट इष्ट कपको पहिलो खेलमा नेपाली टोलीसमक्ष सिगांपुरले १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको युकेएम ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन जोड्यो ।

सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रन बनाए । ओपनर आहान भुधानभाम ३८ तथा अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए ।

नेपालका लागि कप्तान विपिन शर्माले ४, सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए ।

गत महिना सुर्खेतमा सम्पन्न टीबी साह मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोली गरिएको हो ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल आषाढ २१ गते अर्थात ५ जुलाईमा हुनेछ ।

Share Now