एन्थनी जर्कर/उत्तर अमेरिका संवाददाता(बीबीसी)
वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ८ आषाढ । गत ज्यानुअरीमा शान्ति निर्माता हुने वाचा गर्दै ह्वाइटहाउस फर्किनुभएका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरायलबीचको भीषण द्वन्द्वमा अमेरिकालाई जोड्ने नाटकीय कदम चाल्नुभएको छ ।
पद सम्हालेपछि मध्यपूर्वमा शान्ति कायम गर्ने प्रयासभन्दा धेरै टाढा रहेका ट्रम्प अब अझै ठूलो सम्भावित युद्धको सङ्घारमा रहेको क्षेत्रको नेतृत्व गरिरहेका छन् अनि त्यो लडाइँमा अमेरिका सक्रिय रूपमा सहभागी बन्न पुगेको छ।
अमेरिकी सेनाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेको सामाजिक सञ्जालमा घोषणा गरेको दुई घण्टाभन्दा बढी समयपछि ह्वाइटहाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गरेका अमेरिकी राष्ट्रपतिले यस कारबाहीलाई अभुतपूर्व सफलता बताउनुभयो।
उहाँले आफ्नो कदमले दिगो शान्तिको ढोका खोल्ने आशा व्यक्त गर्दै त्यहाँ इरानसँग परमाणु शक्ति बन्ने सम्भावना नहुने बताउनुभयो।
इरानले आफ्नो बलियो घेरामा रहेको फोर्दो परमाणु स्थलमा आंशिक क्षति मात्र भएको जनाएको छ। कुन पक्ष सही छ भन्ने कुरा समयले बताउनेछ।
उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबिओ र रक्षामन्त्री पिट हेग्सेथको आडमा उभिएर ट्रम्पले इरानलाई यदि उनीहरूले आफ्नो परमाणु कार्यक्रम नत्यागेमा भविष्यमा निकै नराम्रो र निकै सहज हमलाहरू सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
ट्रम्पले धेरै निशानाहरू बाँकी रहेको र अमेरिकाले गतिपूर्ण, सटिक ढङ्गले र कौशलकासाथ तिनलाई पछ्याउने बताउनुभयो।
राष्ट्रपतिको साहसका बाबजुद इरानमा हुने निरन्तरको अमेरिकी सैन्य संलग्नता अमेरिका, त्यस क्षेत्र र विश्वकै लागि निकै खराब अवस्था बन्न सक्छ।
संयुक्त राष्ट्र सङ्घका महासचिवले द्वन्द्व बढाउने अमेरिकी निर्णयबाट अराजकताको जालो उत्पन्न हुने चेतावनी दिँदै मध्यपूर्व पहिले नै युद्धकोे धारमा रहेको उल्लेख गरेका छन्।
यदि इरानले बदला लियो भने अमेरिकी पक्षले प्रतिक्रिया दिन बाध्य महसुस गर्न सक्छ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले यसअघि नै अमेरिकी आक्रमण भए त्यसको बदला लिइने चेतावनी दिनुभएको थियो।
यसै साताको सुरुमा ट्रम्पको विनासर्त आत्मसमर्पण गर्न भन्दै दिएको वक्तव्यले राष्ट्रपतिलाई यस्तो स्थितिमा पुर्याएको छ जहाँबाट उनलाई पछि हट्न गाह्रो हुनेछ। इरानसँग समेत विकल्प कम छन्।
युद्धहरू यसरी नै सुरु हुन्छन् र ती त्यसमा संलग्न भएकाहरूको नियन्त्रण र कल्पनाभन्दा बाहिर फैलन सक्छन्।
बिहीवार डोनल्ड ट्रम्पले इरानीहरूलाई दुई हप्ताको समय सीमा दिए पनि यो अपेक्षा गरिएभन्दा निकै छोटो रह्यो र शनिवार राति अमेरिकी राष्ट्रपतिले आफूले कदम चालेको घोषणा गर्नुभयो।
के वार्ताका लागि दुई साता एउटा बहाना वा सप्ताअन्तमा इरानीहरूलाई सुरक्षाको गलत भावनामा फसाउने प्रयास थियो? अथवा ट्रम्पका शान्तिवार्ताकार स्टिभ विटकफको नेतृत्वमा पर्दा पछाडि जारी वार्ता भङ्ग भयो ?
हमलालगत्तैको अवस्थामा कमै मात्र कुराहरू हामीलाई थाहा छ। तर उहाँको सामाजिक सञ्जालको पोस्ट र टेलिभिजन सम्बोधनमा ट्रम्पले शान्तिको ढोका खोल्ने प्रयास गरेको दाबी गर्नुभएको छ ।
यद्यपि त्यो अतिआशावादी दृष्टिकोण हुन सक्छ। इजरायलीहरूले इरानको सैन्य क्षमतालाई कमजोर पार्ने प्रयास गरिरहे तापनि खामेनेईसँग अझै पनि हतियारहरू छन्। परिस्थितिहरू छिटै अस्तव्यस्त हुन सक्छन्।
अब प्रतीक्षाको खेल सुरु हुन्छ। इरानले आफ्नो परमाणु कार्यक्रमको मुकुट रत्नको रूपमा हेरिने फोर्दो सहितका आफ्ना तीन केन्द्रमा भएका हमलाको प्रतिक्रिया कसरी दिनेछ?
ट्रम्पले अमेरिकी हमलाले इरानलाई वार्ताको टेबलमा लचक हुनका लागि दबाबमा पार्ने आशा गरेको देखिन्छ। तर इजरायली हमला हुँदा नै कुरा गर्न नचाहने राष्ट्र अमेरिकी बम खस्दा त्यसका लागि अझ चलक हुने सम्भावना कम देखिन्छ।
ट्रम्पले अमेरिकी आक्रमण एक पटकको, सफल घटना हो भनेर सङ्केत गरिरहेको जस्तो देखिन्थ्यो। यदि त्यसो भएन भने फेरि हमला गर्ने दबाब बढ्नेछ।
अथवा राष्ट्रपतिले न्यूनतम सैन्य लाभको लागि गम्भीर राजनीतिक जोखिम लिनुहुनेछ।
त्यो जोखिममा घरेलु राजनीतिक चिन्ताका साथै अन्तर्राष्ट्रिय सुरक्षाका प्रश्नहरू समावेश हुनेछन्।
इरानमा अमेरिकी हमलाको सम्भावनाले पहिले नै डेमोक्र्याटहरूबाट मात्र नभई ट्रम्पको आफ्नै अमेरिका फर्स्ट अभियानभित्रबाट समेत तीव्र आलोचनाहरू निम्त्याइसकेको थियो।
राष्ट्रपतिले आफ्ना तीनजना निकट सल्लाहकारसाथ रहेर राष्ट्रका नाममा सम्बोधन गर्ने असामान्य निर्णयले पार्टी भित्रको एकता दर्शाउने प्रयास गरेको हुन सक्छ।
खासगरी भान्स अधिक संयमित अमेरिकी विदेश नीतिको प्रस्ट वकालतकर्ता मानिनुहुन्छ। उहाँले हालै सामाजिक सञ्जालमा ट्रम्प अझै पनि एक गैरहस्तक्षेपवादी रहेको भन्दै उहाँका समर्थकहरूले ट्रम्पलाई शङ्काको सुविधा दिनु पर्ने भन्नुभएको थियो।
यदि यो हमला एक पटकको घटना मात्र भए ट्रम्प आफ्नो आधारभित्रको विभाजनलाई सहज बनाउन सक्षम हुन सक्नुहुन्छ।
तर यदि यसले अमेरिकालाई ठूलो द्वन्द्वमा तानेमा राष्ट्रपतिको आफ्ना सहयोगीहरूसँग मतभेद देखिन सक्छ।
आफ्नो पहिलो राष्ट्रपति कार्यकालमै कुनै नयाँ युद्ध सुरु नगरेकोमा घमण्ड गर्ने राष्ट्रपतिका लागि शनिवारको हमला एक आक्रामक कदम थियो।
ट्रम्पले गत वर्षको चुनावी अभियानमा देशलाई विदेशी द्वन्द्वमा तान्ने आफ्ना पूर्ववर्तीहरूको बारम्बार आलोचना गर्नुभएको थियो।
यतिखेर ट्रम्पले आफ्नो कदम चाल्नुभएको छ। यो यहाँबाट कहाँ जान्छ भन्ने कुरा उहाँको मात्र पूर्ण नियन्त्रणमा छैन।



















