काठमाडौँ, १० आषाढ । इरानले कतारमा क्षेप्यास्त्र हानेपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एअरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ भने दोहा जाने निगमको जहाज काठमाडौंमै रोकिएको छ ।
सोमबार साँझ ६स्३३ बजे काठमाडौँबाट उडेको कतार एयरवेजको विमान इरानले दोहास्थित अमेरिकी बेसमा क्षेप्यास्त्र आक्रमण गरेपछि सुरक्षा सतर्कता स्वरूप ओमानमा डाइभर्ट गरिएको थियो।
इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ । ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान कतारी हवाई क्षेत्र बन्दभएसँगै रोकिएको छ ।काठमाडौं राति ११ बजेका लागि नेपाल एयरलाइन्सको विमान समेत दोहाका लागि उड्ने तयारी थियो । बोर्डिङ पास लिएर यात्राका लागि बढिरहेका यात्रुहरु उताबाट कतारको हवाई क्षेत्र बन्द भएको सूचना संगै रोकिन पुगे ।


















