सानोथिमि(भक्तपुर), १३ आषाढ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।
भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक सुरु भएको हो । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको छ ।
यसअघि परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसइई नतिजा सार्वजनिक गर्ने बताउनुभएको थियो । तर, बोर्ड बैठक बस्न ढिलाइ भएकै कारण नतिजा प्रकाशनमा केही ढिलाइ हुने भएको छ ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
नेपालमा नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।उदाहरणको लागि मानौ तपाइँले हेर्न चाहेको नतिजाको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर ३१००३ मा पठाउने !
एसएमएस सेवा नेपाल बाहिर बस्नेहरुको लागि भने उपलब्ध छैन ।
नेपाल बाहिर बस्नेहरुले वेबसाईटको माध्यमबाट नतिजा हेर्नु पर्ने हुन्छ ।
यसको लागि ईन्टरनेटमा गइ नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ ।


















