क्वालालम्पुर(मलेसिया), १७ आषाढ । एसीसी मेन्स यु १६ इस्ट जोन कपमा नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिड. गरेको नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य भुटानले हासिल गर्न सकेन । ५० ओभरको निर्धारित खेलमा ३२.४ ओभरमा ९ विकेट गुमाएको अवस्थामा भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन् । अनि नेपाल विजयी भयो । त्यतिबेलासम्म उसले जम्मा ६० रन बटुलेको थियो।
भुटानका सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भुटानलाई रोक्नका लागि नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट र सुयोग भट्टराईले समान २ । २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो ।
रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले ।
आज नेपालको सुरुवात राम्रो रहेन । अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए ।१७ रन जोड्दा २ ओपनर गुमाएको नेपाललाई रौनक श्रीवास्तव र शिवांश बजगार्इँले लयमा ल्याए । उनीहरुले तेस्रो विकेटका ८४ बलमा ९१ रनको साझेदारी गरे ।
शिवांशले ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनक र सुगम बुढाथोकीले चौथो विकेटका लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन जोडे ।
पाँचौ विकेटका लागि रौनकले जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । यो समूहबाट दोस्रो हुँदै सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ । भुटान समूह चरणका सबै ४ खेलमा पराजित भयो।
एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार थिए । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्।
अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियाले नेपालसँग बिहीवार सेमिफाइनल खेल्नेछ ।
समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।


















