Prakash Adhikari July 4, 2025

काठमाडौँ, २० असार : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुुनुहुन्छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभयो । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उहाँले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गर्नुभयो । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गर्नुभएको थियो ।

कतारको दोहा प्रस्थान

स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गर्नुभयो ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । गत असार १४ गते स्पेन आउनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।

 

Share Now