Prakash Adhikari July 7, 2025

काठमाडौँ , २३ आषाढ । एएफसी महिला एसियन कप छनोटमा तारिफ योग्य खेल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश आइपुगेको छ ।

पेनाल्टीमा चुकेर विजयमाला पहिरिनबाट बञ्चित भएको नेपाली टोलीको खेलबाट प्रशन्न हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले हारमा जितको सुगन्ध पाएको बताएर नेपाली टोलीको मनोबल बढाउनुभएको छ । उहाँले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियतामा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताउनुभएको छ ।

“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

नेपाली टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेल सोचे अनुरुप उत्कृष्ट नतिजा दिन नसके पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताउनुभएको छ।

छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

कप्तान साबित्री भण्डारीले भन्नुभयो, “सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको थियो । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेल्दा केही सफल भइयो ।”

उहाँले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गर्नुभयो। कप्तान सावित्राले सुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गर्नुभएको थियो। समग्रमा आफूभन्दा माथिल्लोस्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक ऊर्जा लिएर फर्किएको उनको विश्वास छ।

कप्तान भण्डारीले यो प्रतियोगिता नेपाली महिला फुटबल टोलिका निमित्त ठूलो अवसर रहे पनि पेनाल्टीमा चुक्दा त्यसको लाभ लिन नपाएकोमा पछुतो व्यक्त गर्दै भन्नुभयो,”यसले भविष्यसम्म पनि खेलाडीलाई पिरोलिरहन्छ।”

आफूभन्दा शक्तिशाली मानिएको टोलीबाट उसको घरेलु मैदानमा खेलको सुरुआतमै गोल खाएपछि सम्हालिन गाह्रो भएको कप्तान भण्डारीको अनुभव छ। त्यसमा पनि अर्को गोल बेहोरेपछि स्थिति थप कठिन भएको तर कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको उहाँले बताउनुभयो । दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौँ भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उहाँले बताउनुभयो । ९० मिनेटको निर्धारित समयमा नेपालको तर्फबाट तीनै गोल साम्बाले नै गर्नुभएको थियो ।

उज्वेकिस्तानसंगको निर्णायक खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो। दोस्रो हाफमा दुई गोल फर्काउँदै आफूभन्दा शक्तिशाली टोलीलाई थप गोल गर्नबाट रोक्नु नेपाली टोलीको ठूलो सफलता रहेको थियो । तर तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर चुक्न पुग्नुभयो। उज्वेकिस्तानको पेनाल्टी नेपाली गोल किपरबाट रोकिएन ।

नेपाली टोली उज्वेकिस्तान जाँदा उज्वेकिस्तानलाई जित्न मुस्किल छ भन्नेहरु मैदानमा बराबरीमा पुगेकोमा नेपाली टोलीको प्रशंसा गर्न छोडेर चुकेको पेनाल्टीमा खेलाडी र प्रशिक्षकलाई दोष दिइरहेका छन् । उज्वेकिस्तानसंगको खेलमा नेपाली चेलीहरुले ज्युज्यान दिएर खेलेका हुन् । यही जोश र जाँगर रहिरहे आउदा दिनमा नेपाली चेलीले सबै नेपालीको चाहना अनुसार विजयको माला पहिरिने छन् ।

Share Now