Prakash Adhikari July 12, 2025

-निरञ्जन राजवंशी/ बीबीसी न्यूज नेपाली

काठमाडौँ, २८ असार :  कप्तान कसलाई बनाउने? त्यसलाई सामान्यत: प्रमुख प्रशिक्षकको अधिकारको विषय मान्ने गरिन्छ।

राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डी. वाइल्डसँग पनि त्यो अधिकार सुरक्षित रहेको धेरैको बुझाइ हो।

तर उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा कप्तान चयनको विषय यति गिजोलियो कि त्यसले सो प्रतियोगितामा नेपालले गरेको उच्च कोटीको प्रदर्शन समेत छायामा पारिदिएको छ।

त्यो भन्दा पनि गम्भीर, खेल वृत्तमा यसले महिला टोलीको एकतालाई समेत खलबल्याइदिएको महसुस गरिएको छ।

साथै व्यावसायिक प्रशिक्षक प्याट्रिक डी वाइल्डको राष्ट्रिय टोलीमा निरन्तरतामा पनि शङ्का उत्पन्न भएको छ।

प्रशिक्षकले बेलैमा कप्तान घोषणा गरेको भए यति लामो विवाद र बहस हुनै नै थिएन भन्ठान्छन् कतिपय।

प्रतियोगिता खेल्न जानु अगाडि बिदाइ समारोहमा काठमाण्डूमा नै प्रशिक्षक प्याट्रिकले कप्तान घोषणा गर्न सक्थे तर उनले त्यसो गरेनन्।

पछि यही विषयमा विवाद र आरोप प्रत्यारोप चल्यो।

प्रशिक्षक वाइल्डले ‘द काठमाण्डू पोस्ट’ दैनिकमा दिएको अन्तर्वार्ता अनुसार टीम व्यवस्थापकले उनको इच्छा विपरीत कप्तानको नाम दिएकी थिइन्।

टीम व्यवस्थापक सरिला श्रेष्ठका अनुसार एएफसीमा नाम बुझाउने समय बितिसक्दा पनि प्रशिक्षकले कप्तानको नाम नदिँदा बाध्य भएर सिनियर खेलाडी रेनुका नगरकोटेको नाम बुझाउन परेको हो।

यी दुई भनाइबाट के स्पष्ट हुन्छ भने उज्बेकिस्तान भ्रमणमा जाने प्रशिक्षक, सहायक प्रशिक्षक, टीम व्यवस्थापक र अरूबीच तालमेल थिएन।

किन दिइएन नाम?
प्रशिक्षक वाइल्ड नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई परिवर्तन गर्न चाहन्थे।

पत्रकार सम्मेलनका क्रममा सहायक प्रशिक्षक राजेन्द्र तामाङले भने, “शायद पहिले नै नाम दिएको भए त्यसमा विरोध हुन्छ भन्ने आशङ्का उनमा थियो होला। मलाई उनले कहिले साम्बा (सावित्रा भण्डारी), कहिले गीता राना वा कहिले एन्जिला तुम्बाप्पो सुब्बाले नै कप्तानी गर्न सक्ने बताएका थिए।”

प्रश्न उठेको छ – वाइल्डले कप्तानको नाम घोषणा गर्न किन ढिलाइ गरेका होलान्।

फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “उनलाई सेवा सुविधाका विषयमा पनि थुप्रै गुनासो थियो। शायद कप्तान परिवर्तनको विषय पहिल्यै भन्दा कतैबाट दबाव आउँछ कि भन्ने बुझेर अन्तिम समयसम्म कुरेको हुन सक्छ।”

समग्रमा टोलीको व्यवस्थापन, खेलाडीको सुविधा र व्यवहार कुनै पनि विषयमा प्रशिक्षक सन्तुष्ट थिएनन् भन्ने उनको अन्तर्वार्तामा देखिन्छ।

असर के ?

नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बा बेन्चमा सीमित भइन्।

रेनुका नगरकोटेले कप्तान बन्न लागेको खुसी केही बेरको लागि मात्र पाइन्। तर जब मैदानमा प्रवेश गर्नै लागेको बेला आफ्नो पाखुराबाट कप्तानको ‘आर्म ब्यान्ड’ खोसियो, उनले त्यहाँ मन थाम्न सकिनन्।

सावित्रा भण्डारीले नयाँ कप्तानको रूपमा मैदानमा प्रवेश त गरिन्। तर मैदान प्रवेश गर्नु अगाडिको टनलमा भएको नमिठो बहस र दृश्यले उनले खुलेर हर्ष मनाउन सकिनन्।

एन्जिलाले अन्तिम समयसम्मको अन्योलले आफूलाई असहज बनाएको एक अन्तरवार्तामा बताइन्। उनले भनिन्, “मैले खुसीका साथ साम्बालाई कप्तानी सुम्पिन पाइनँ। समयमै त्यो गर्न पाएको भए कति खुसी हुन्थेँ होला।”

नेपाल फर्केर कप्तान भण्डारीले आगामी दिनमा टोलीमा यस्तो घटना हुन नहुने बताइन्।

खेल सुरु हुनु केही समय अगाडि सिर्जित यो वातावरण नेपालको लागि कुनै पनि हालतमा राम्रो थिएन।

फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “जे भयो त्यसले खेलाडीहरू बीचको टीमवर्कमा राम्रो गरेन। एन्फाले टोलीलाई एक बनाइ राख्न काम गर्न पर्छ।”

प्रशिक्षक गुम्ने खतरा

एसियन कप छनोट प्रतियोगिताको तीनवटा खेल हेरेर प्रशिक्षक वाइल्डको क्षमताको प्रशंसा गर्नेहरू छन्।

उनले ३-२-३-२ को फर्म्याटमा टीमलाई उतारे र जुन ढङ्गले खेलाए त्यसको प्रशंसा भइरहेको छ।

तर कतिपयले कमजोरी पनि औँल्याउने गरेका छन्।

एन्फाका प्राविधिक निर्देशक हरि खड्काले भने, “प्रोफेशनल प्रशिक्षकले समस्या निम्त्याउँदैन, बरु समाधानको उपाय खोज्छ।”

यो घटनाक्रममा एन्फा रुष्ट देखिएको छ।

एन्फाका महासचिव किरण राईले भने, “खेलाडीले पेनाल्टी हान्न मानेनन् भने त्यसको जिम्मा प्रशिक्षकले लिने हो कि एन्फाले ?”

एन्फामा टीम व्यवस्थापक सहितको उज्बेकिस्तान जाने टोलीका सदस्यहरूले गरेको पत्रकार सम्मेलनपछि एन्फाले प्रशिक्षकको जिम्मेवारी निरन्तरता नदिने गाँइगुइँ चलेको छ।

यस अर्थमा नेपाली महिला टोलीले पहिलो पटक पाएको व्यावसायिक लाइसेन्सधारी प्रशिक्षक गुमाउन सक्छ।

एन्फाको प्राविधिक निर्देशक खड्काले वाइल्डलाई निरन्तरता दिने विषय वाइल्डमा नै निर्भर रहने बताएका छन्।

उनले भने, “हामीले सम्पर्क गरेका छौँ। उनले जबाफ दिएका छैनन्। हेरौँ के हुन्छ।”

वाइल्डसँग एन्फाको एक वर्षे सम्झौता छ। तर उनलाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे बर्खास्त गर्ने एन्फाको तयारी रहेको बताइएको छ।

टोलीले के गर्छ
एसिया कपमा छनोट हुन नसकेपछि नेपालले ओलिम्पिक छनोट र विश्वकप छनोट समेत गुमाइसकेको छ।

अब महिला खेलाडीहरूले खेल्ने भनेको अर्को वर्ष हुने साफ च्याम्पियनशिप हो। यसबीच मैत्रीपूर्ण फुटबल वा त्रिदेशीय प्रतियोगिताहरू हुन सक्छन्।

यहीबीच टोलीका खेलाडीहरूबीच बढेको दूरी हटाउने जिम्मा एन्फाकहाँ आइपुगेको छ।

Share Now