Prakash Adhikari July 12, 2025

ओटावा, २८ असार (रासस/एएनआई): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका सामानमा आगामी महिनादेखि लागू हुने गरी ३५ प्रतिशत कर लगाउने घोषणा गरेको एक दिनपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले फेन्टानिलसम्बन्धी समस्यासँग जुध्न क्यानडाले महत्वपूर्ण प्रगति गरेको बताउनुभएको छ ।

कार्नीले बिहीबार सामाजिक सञ्जालमा लख्नुभएको छ, “क्यानडाले उत्तरी अमेरिकामा फेन्टानिलको अवैध कारोबार रोक्नका लागि महत्वपूर्ण प्रगति गरेको छ। हामी दुवै देशका नागरिकको जीवन रक्षा र समुदायको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकासँग मिलेर काम गर्न प्रतिबद्ध छौँ ।”

द हिलका अनुसार अन्य राष्ट्रमाथि लगाइएको करसँगै घोषणा गरिएको नयाँ कर ट्रम्पले यसअघि लगाएको २५ प्रतिशतको दरभन्दा बढी हो र यो अगस्ट १ देखि लागू हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले उत्तरी सीमामा फेन्टानिल र अवैध आप्रवासनको प्रवाहलाई सहयोग गरेको आरोप लगाउँदै फेब्रुअरीमा पहिलो पटक चिन्ता व्यक्त गर्नुभएको थियो ।

द हिलका अनुसार अमेरिकी भन्सार र सीमा सुरक्षाले यस वर्षको अहिलेसम्म अमेरिका–क्यानडा सीमामा करिब ३१ पाउण्ड फेन्टानिल जफत गरेको छ ।

राष्ट्रपति ट्रम्पले बिहीबार कार्नीलाई लेखेको पत्रलाई उद्धृत गर्दै द हिलले लेखेको छ, “यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न मसँग मिलेर काम ग¥यो भने हामी सम्भवतः यो पत्रलाई समायोजन गर्नेबारे विचार गर्नेछौँ।”

“संयुक्त राज्य अमेरिका र क्यानाडाले सुरुमा जुलाई २१ सम्ममा व्यापार सम्झौताको लागि काम गरिरहेका थिए, तर ट्रम्पको उतारचढावपूर्ण कर रणनीतिका कारण यो मिति अगस्ट १ सम्म बढाइएको छ,” द हिलले उल्लेख गरेको छ ।

गत मार्चमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कार्नीले पूर्वराष्ट्रपति जस्टिन ट्रुडोको तुलनामा राष्ट्रपति ट्रम्पसँग तुलनात्मक रुपमा सुमधुर सम्बन्ध कायम गर्नुभएको छ ।

“संयुक्त राज्य अमेरिकासँग हालको व्यापार वार्ताको दौडान, क्यानाडा सरकारले आफ्ना कामदार र व्यवसायहरूको दृढतापूर्वक रक्षा गरेको छ,” कार्नीले एक्समा पोस्ट गरको सन्देशमा भनिएको छ ।

Share Now