Prakash Adhikari July 13, 2025

ढाका(बंगलादेश), १९ आषाढ । साफ महिला च्याम्पियनसिप यु २० अन्तर्गत नेपाली चेलीहरु आज बंगलादेशसंग भिड्दै छन् ।

चार राष्ट्र सम्मिलित यस प्रतियोगितामाको आजको खेललाई फाइनल जसरी हेरिएको छ । यस अगाडि शुक्रवार सम्पन्न खेलमा नेपाल र बंगलादेश दुवैले एकएक खेल जितिसकेका छन् । नेपालले ६-१ले भुटानलाई पराजित गर्यो भने बंगलादेशले श्रीलंकालाई ९-०ले ।

उपाधिका दावेदारका रुपमा रहेका नेपाल र बंगलादेशको आजको खेल किन रोचक मानिएको छ भने यो प्रतियोगितामा हरेक टोलीले एकर्काबीच दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता घोषित गरिने खेलको विधि निर्धारण गरिएको छ ।

गत शुक्रवार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६ १ ले हराएको हो ।

नेपालकी पूर्णिमा राईको ४ र सेनु परियारको २ गोल गरिन्। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै ३-० अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले ३ गोल थप्यो ।

सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट चिप गर्दै गोल गरिन् ।

यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाकै क्रसमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।

त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्‍याइन् । वर्षाले पासमा सेनुले बक्स भित्रबाट व्यक्तिगत दोस्रो गोल गरिन् ।

केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो ।

पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गरिन् ।

नेपाली किशोरी खेलाडीहरुको लय मिलेको हुनाले मौसमले साथ दिएमा नेपाली खेलाडीले बंगलादेशलाई पराजित गर्ने ठानिएको छ। शुक्रवारको खेलमा पानीको असर देखिएको थियो । मैदान हिलाम्मे थियो । खेलाडीहरु हिलाम्मे थिए । पानीले भिजेको बललाई निर्धारित लक्ष्यमा पुर्याउन खेलाडीहरुलाई कठिन भइरहेको थियो ।

साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल, भुटान,आयोजक राष्ट्र बंगालदेश र श्रीलंका गरी चार टोलीको सहभागिता छ। डबल राउण्ड रोविनमा हुने च्याम्पियनसिपको शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ ।

Share Now