ढाका(बंगलादेश), २९ आषाढ । .साफ यू २० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २-२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३(२ ले पराजित भयो ।
पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्।
यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औं मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो।
३६ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो। गोलकिपर सुजाता तामाङले बललाई राम्ररी समाउन नसक्दा सागोरिकाले गोल गरिन् ।
दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।
नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याइन् ।
त्यसपछि ५ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा नेपालले बराबरी गोल गर्यो । पुर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को स्थितिमा पुर्याइन् ।
तर बंगलादेशले इन्ज्युरी समयको १२ औं मिनेटमा विजयी गोल गर्यो । श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।
डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता रहेको छ । पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपालले अब श्रीलंकासँग खेल्नेछ । बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो ।


















