Prakash Adhikari July 17, 2025

 

ढाका(बंगलादेश), १ साउन । साफ यू २० महिला च्याम्पियनसिप अन्तरगत आज नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै छ।

मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

साफ यु -२० का खेलहरु यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू (सातौं, आठौं, नवौं र दशौं खेलहरू) अब बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्।

मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो । नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नियमित समय र इन्जुरी समयको लामो समय बराबरीमा रहेको नेपालले बंगलादेशले अन्तिम मिनेटमा गोल गरेपछि ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा दुई खेल जितेको नेपाली ६ अंकसहित दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ । श्रीलंका अहिलेसम्म जितबिहिन छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा जुन टोलीले धेरै अंक जोड्छ त्यही शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अबको खेलमा बंगलादेशलाई पराजित गरेमा  नेपाल र बंगलादेशको बराबर अंक हुने स्थिति छ

पातलो भएकोले छरिता देखिएका बंगलादेशी खेलाडीहरुको डी बक्स एरियाबाट गोल हान्ने प्रवृत्ति देखिएको छ । डी एरियामा बल पुग्नासाथ नेपाली गोलकिपर निराश हुने र त्यसको फाइदा उठाउदै उनीहरुले गोल गर्ने गरेका छन् । डी बक्समा बल पुर्याउनबाट बंगाली खेलाडीलाई नेपाली चेलीले रोक्न सके बंगालादेशलाई नेपालले मात दिन सक्छ । गोलको मामलामा नेपाली खेलाडीहरुले भने जताबाट पनि गोल गरिरहेका छन् ।

Share Now