आम्र्सटरभिला(आम्र्सरडम, नेदरल्याण्ड्स), १८ साउन । नेपाल र नेदरल्याण्डसबीच भएको दोस्रो एक दिवसीय अन्तराष्टिय क्रिकेट खेलमा नेपाली टोलीले नेदरल्याण्डसलाई १ रनले पराजित गरेको छ ।
अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाली कप्तान पारस खड्काले क्लासेनलाई आउट गरेपछि नेपालले विजय हासिल गरेको हो । नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड ११५ रनमाअल आउट भएको थियो।
खेलको म्यान अफ द म्याच सोमपाल कामी बने। उनले नेपालका लागि सर्वाधिक रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए।
यो जीतसँगै नेपाल र नेदरल्यान्डबीचको दुई खेलको सिरिज बराबरीमा टुंगिएको छ।
नेदरल्यान्डका लागि विसली बारेसीले सर्वाधिक ७१ रन बनाएका थिए। त्यस्तै डानियल ब्राकले ३९ र पिटर सेलारले २१ र बेन कुपरले १९ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३, ललितसिंह भण्डारीले र पारस खड्काले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, वसन्त रेग्मीले एक एक विकेट लिएका थिए।
नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले २१७ रनको चुनौति दिएको थियो। ४८।५ ओभरमा अलआउट हुँदै नेपालले २१६ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए भने कप्तान पारस खड्काले ५१ रन बनाए।
कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का प्रहार गरेर ६१ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र दुई छक्काको सहयताले ५१ रन बनाएका थिए। नेपालका लागि आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, सन्दीप लामीछानले ८, अनिल साह ४, दीपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाए। ललित भण्डारी ४ रनमा नटआउट रहे।
नेदरल्यान्डका फ्रेड कालासेनले ३,मिचेल रिप्पोन र पिटर सेल्लारले दुई दुई विकेट लिएका थिए।
नेदल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई १९० रनको चुनौति दिएको थियो।


















