Prakash Adhikari July 18, 2025

काठमाडौं, २ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ता बापत पूरा र दुई वाईडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता सुवास डाँगी र प्राविधिक प्रवक्ता मनोजकुमार साहले असार ३२ गते जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार निगमले असार ३२ गते जम्मा रु. ५३ करोड ०९लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको छ ।

नेपाल वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात, निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल रु. ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३ सय ७६ रुपैयाँ रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिसकेको छ ।

निगमले न्यारोबडीका दुई जहाज खरिदका लागी कर्मचारी सञ्चयकोष संग १० अर्ब र बाइडबडी जहाज खरिदका लागि सञ्चयकोष र नागरिक लगानी कोषसंग १२ । १२ अर्ब ऋण लिएको थियो ।

निगमले विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सोे अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ ।

यस सम्बन्धमा सकारात्मक छलफल समेत भइरहेको सन्दर्भमा तालुकदार निकाय लगायत नेपाल सरकारबाट आवश्यक सहयोग एंव सहजीकरणको अपेक्षा पनि निगमले राखेको छ ।

Share Now