Prakash Adhikari July 20, 2025

म्याक्स माट्जा
बीबीसी न्यूज

वाशिड.टन डीसी)संयुक्त राज्य अमेरिका), ४ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाल स्ट्रीट जर्नलको मूल कम्पनी डाव जोन्स तथा त्यसका मालिक रुपर्ट मर्डोकविरुद्ध १० अर्ब डलरको मुद्दा हाल्नुभएको छ।

ट्रम्पले यौन कसुर लागेका जेफ्री एप्स्टिनलाई यौनको विषयमा हँसिमजाक गरेर लेखिएको ‘अश्लील’  नोट पठाएको दाबी गरिएको समाचार प्रकाशन गरेकाले सो मुद्दा हाल्नुभएको हो।

सो प्रकाशनले सन् २००३ मा ट्रम्पको नाम उल्लेख भएको जन्मदिनको शुभकामना नोट हाल दिवङ्गत एप्स्टिनलाई पठाइएको भनेर उल्लिखित लेख प्रकाशन गरेर आफ्नो बदनामी गरेको र मानहानिको कानुन उल्लङ्घन गरेको ट्रम्पले भन्नुभएको छ। एप्स्टिनलाई पछि यौन कसुरमा अभियोग लगाइएको थियो।

पत्रिकाले उक्त नोट ट्रम्पले एप्स्टिनको ५०औँ जन्मदिनमा पठाएको भनेको छ तर ट्रम्पले उक्त नोटलाई झुटा भन्नुभएको छ।

अमेरिकी न्यायमन्त्रालयले एक न्यायाधीशलाई एप्स्टिनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न अनुरोध गरेको बेला यो पछिल्लो घटनाक्रम विकसित भएको छ। यो मामिलाको व्यवस्थापनलाई लिएर ट्रम्प प्रशासनको चर्को आलोचना भइरहेको थियो।

ट्रम्पको गम्भीर आरोप

सामाजिक सञ्जालमा ट्रम्पले लेख्नुभएको छ, “थोत्रो कपडा सरह भइसकेको द वाल स्ट्रीट जर्नलमा गलत, द्वेषपूर्ण, बेइज्जतीपूर्ण, झुटा समाचार ‘आर्टिकल’ छाप्ने कार्यमा सामेल सबैका विरुद्ध हामीले भर्खरै शक्तिशाली मुद्दा हालेका छौँ।”

“मेरो आशा छ रुपर्ट र उनका मित्रहरू यो मामिलामा दिनुपर्ने घण्टौँ लामा बयानका लागि तयार होलान्”, उहाँले ब्यङ्ग्य गर्दै लेख्नुभएको छ।

उहाँले उक्त पत्रिका र मर्डोकलाई त्यस्तो लेख छापेको खण्डमा मुद्दा हालिने भनेर पहिले नै चेतावनी दिइएको बताउनुभएको छ। मर्डोकसँग ट्रम्पको दशकौँ पुरानो उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ।

डाव जोन्सका एकजना प्रवक्ताले बीबीसीलाई पठाएको विज्ञप्तिमा भनेका छन्, “हाम्रो रिपोर्टिङमा अपनाइएको सावधानी र सत्यताप्रति हाम्रो पूर्ण विश्वास छ, र हामी कुनै पनि मुद्दाविरुद्ध जोडदार प्रतिरक्षामा उत्रने छौँ।”

पछिल्लो पटक गत आईतवार फिफा क्लब वर्ल्ड कप समारोहमा ट्रम्पसँगै मर्डोक उपस्थित थिए। मर्डोकले स्थापना गरेको सञ्चार साम्राज्यलाई ट्रम्पलाई ह्वाइट हाउसमा पुर्‍याउन सघाएको श्रेयसमेत कतिपयले दिने गरेका छन्।

घटना के हो?

वाल स्ट्रीट जर्नलका अनुसार ट्रम्पको नाम भएको एक पत्रमा ‘हेभी मार्करबाट हातैले बनाएको जस्तो देखिने नग्न महिलाको रेखाचित्रभित्र टाइप गरेर लेखिएका कैयन् लाइन छन्।’

ूनग्न महिलाको रेखाचित्रभित्र ट्रम्प र एप्स्टिनबीच भएको काल्पनिक संवादको स्वरूपमा तेस्रो व्यक्ति शैलीमा टाइप गरिएको नोट रहेको छ,ू पत्रिकामा लेखिएको छ।

त्यसमा ‘रहस्यहरू कहिले पुरानो नहुने’ सन्दर्भको ठट्टा गरिएको विषय रहेको र नोटको अन्त्यमा ‘मित्र भनेको गजबको चिज हो। शुभ जन्मदिन – प्रत्येक दिन गजबको रहस्य होस्’ भनेर लेखिएको बताइएको छ।

ट्रम्पले त्यसबारे बिहीवार पत्रिकामा प्रकाशित भएपछि सो नोट आफूले लेखेको अस्वीकार गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “ती मेरा शब्द होइनन्। मेरो कुरा गर्ने तरिका त्यस्तो छैन। अनि, म चित्र पनि बनाउँदिन।”

यसबीच अमेरिकी न्यायमन्त्रालयले एक न्यायाधीशलाई एप्स्टिनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न अनुरोध गरेको छ। सन् २०१९ मा एप्स्टिनविरुद्धको यौन ओसारपसारसम्बन्धी सरकारी मुद्दाको ग्र्यान्ड जुरी प्रक्रियाका बयानहरूसँग सम्बन्धित त्यस्ता सामग्री सामान्यतया गोप्य राखिन्छन् र कानुनद्वारा संरक्षित हुन्छन्।

बिहीवार ट्रम्पले महान्यायाधिवक्ता प्याम बन्डीलाई एप्स्टिनको गोप्य रूपमा गरिएका ग्र्यान्ड जुरी टेस्टिमोनीका दस्तावेजहरू सार्वजनिक गर्ने बारे काम गर्न आदेश दिनुभएको थियो।

न्याय मन्त्रालयले न्यूयोर्कको एक न्यायाधीशसमक्ष औपचारिक रूपमा त्यस्तो अनुरोध गरेको छ। उसले ती मुद्दा ुसार्वजनिक हितुसँग जोडिएको जिकिर गरेको छ। जसमा एप्स्टिनमाथि १४ वर्ष सम्मका दर्जनौँ किशोरीहरूको ओसारपसारको अभियोग लगाइएको थियो।

साथै एप्स्टिनका सहयोगी गिलेन म्याक्सवेलसँग सम्बन्धित मुद्दाका सामग्री पनि बाहिर ल्याउन उसले अनुरोध गरेको छ। बाल यौन ओसारपसारको षडयन्त्र गरेको अभियोगमा म्याक्सवेललाई दोषी ठहर गरिएको छ।

सन् २०१९ को अगस्ट १० मा न्यूयोर्कको जेलमा यौन ओसारपसारसम्बन्धी अभियोगको मुद्दा टुङ्गिने प्रतीक्षामा रहेकै बेला एप्स्टिनको निधन भएको थियो

तर नाबालिगसँग यौन सम्बन्ध राख्न खोजेको मामिलामा एक दशकअगाडि नै एप्स्टिन दोषी ठहर हुनुभएको थियो र त्यसपछि उहाँ ुसेक्स अफेन्डरुका रूपमा दर्ज हुुनुभएको थियो।

ग्र्यान्ड जुरी भनिने कुनै व्यक्तिविरुद्ध कुनै अपराधको मुद्दा अभियोजन गर्न पर्याप्त प्रमाण पुग्छ कि पुग्दैन भनेर हेर्ने मानिसहरूको एक प्यानेलले गोप्य सूचना दिनेहरूसँग तथा सुरक्षाका निम्ति पहिचान लुकाइएकाहरूको बयान लिन सक्छ।

ग्र्यान्ड जुरीले सङ्कलन गरेका जानकारीहरू सामान्यतया गोप्य राखिन्छन्। तर यदि कानुनी रक्षाभन्दा सार्वजनिक हित बढ्ता महत्त्वपूर्ण भएर आयो भने न्यायाधीशले त्यसलाई सार्वजनिक गर्न अनुमति दिन सक्छन्।


जे होस्, ती दस्तावेजहरू सार्वजनिक होलान् कि नहोलान् अनि तिनमा ट्रम्पका समर्थकहरूले सोचेका जस्ता विवरण छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

ट्रम्पका सबभन्दा बफादार समर्थकहरूले एप्स्टिनको मामिलामा थप पारदर्शिता र सार्वजनिक खुलासाको माग गरेका छन्।

कतिपय ट्रम्प समर्थहरूले यो मामिलामा दस्तावेजहरू सार्वजनिक गर्नबाट पछि हटेको भन्दै महान्यायाधिवक्ता प्याम बन्डीको राजीनामा पनि मागेका छन्।

क्यालिफोर्निया राज्यको गभर्नरको दौडमा रहेका रिपब्लिकन शेरिफ चाड बियान्कोले बीबीसीसँग कुरा गर्दै ट्रम्पले एप्स्टिन दस्तावेजहरूको जसरी व्यवस्थापन गरिरहेका छन् त्यो आफूले अपेक्षा गरेको भन्दा बेग्लै रहेको भन्दै उहाँका दशौँ लाख समर्थकहरू निराश भएको बताउनुभयो।

“अबुझ बालबालिका सरह हामीसँग व्यवहार गरिएको हामीले अनुभव गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यसबीच कङ्ग्रेस सदस्यहरूले ‘डिस्चार्ज पेटिशन’ पारित गर्न कोसिस गरिरहेका छन् जसले बन्डीलाई एप्स्टिनसँग सम्बन्धित थुप्रै सामग्री सार्वजनिक गर्न वाध्य पार्नेछ।

यो प्रयासले कङ्ग्रेसभित्र रहेका कटु विरोधीहरू – रिपब्लिकन मार्जोरि टेलर ग्रीन र डेमोक्र्याट अलेक्जान्ड्रिया ओकासियो(कोर्टेज सहित)लाई समेत एकैठाउँ ल्याइदिएको छ।

Share Now