Prakash Adhikari July 20, 2025

काठमाडौँ, ४ साउन : देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।

यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिनुभयो । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो ।

अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।

तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ ।

यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।
–––

Share Now