Prakash Adhikari July 20, 2025

 

काठमाडौं, ४ साउन । नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य र रंगीन समारोहमा ‘मिस ग्राण्ड नेपाल २०२५’को उपाधि चाहाना प्रधानले चुमेकी छन् ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले नेपाल सुन्दरीको ताज पहिरिएकी हुन् । शनिवारको रंगीन साँझमा उनीसहित चार जना सुन्दरी युवतीहरूले विभिन्न उपाधि जितेका छन् । उनीहरुले अबका दुई बर्ष नेपालको राष्ट्रिय झण्डा सुन्दरी प्रतियोगिता हुने विभिन्न मुलुकहरुमा फहराउने अवसर प्राप्त गरेका छन् ।

प्रतियोगितामा मिस ग्राण्ड नेपाल २०२५को उपाधि चाहाना प्रधानले जितिन भने मिस टुरिजम वर्ल्ड नेपाल २०२५ को ताज गरिमा गुरुङले पहिरिइन । त्यस्तै स्नेहा केसी  मिस सुपर ग्लोबल नेपाल २०२५ बनिन् भने सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५को ताज पहिरिइन ।

उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो। सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।

यी विजेताहरूले न केवल सौन्दर्यको ताज जिते, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए। उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन्।

कार्यक्रममा मुख्य बिजेताले ईभी स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर।के। इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएको छ ।

प्रतियोगिता भव्य र स्तरिय रुपमा प्रस्तुत गरिएको थियो। यसका लागि देशकै चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। मेकअप आर्टिस्ट रोजिना सुवाल,मिना जाकि , फोटोग्राफर सन्दीप पण्डित, भिडियोग्राफीको जिम्मेवारी आर के ग्रुपले लिएको थियो भने प्रतियोगिताको पोशाक डिजाइनर नविन लुइँटेल तयार पारेका थिए। सम्पूर्ण टिमले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेका हुन् , जसको सबै अतिथि र दर्शकहरूले खुलेर गरेका मिस ग्रान्ड नेपालको तारिफ गरेका थिए।

प्रतियोगिताको निष्पक्ष र व्यावसायिक मूल्याङ्कनका लागि योग्य निर्णायकहरूको टोलि गठन गरिएको थियो। निर्णायकहरूमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए। उनीहरूले सौन्दर्य मात्र होइन, व्यक्तित्व, आत्मविश्वास, सामाजिक सोच, र सांस्कृतिक ज्ञान र जनताले दिएको भोटको आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेका थिए।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको मञ्चमार्फत हरेक वर्ष नेपाली युवतीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि तयार पार्ने काम गर्दै आएको छ। आयोजक सस्थाले सातजना प्रदेशी बिजेता प्रतियोगीहरूलाई समेत ताज प्रदान गरी ूइन्टरनेशनल रिप्रेजेन्टेशनू मा समेट्ने छ। उनीहरूलाई समेत आगामी यही वर्षामा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी गराइनेछ।

कार्यक्रममा प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा रहेका थिए। सभापति राजु श्रेष्ठ सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति कार्यक्रमको आकर्षण बनेको हो ।

‘मिस ग्राण्ड नेपाल’ सौन्दर्य प्रतियोगिता मात्र  होईन, यो नेपालको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र महिला सशक्तिकरणको प्लेटफर्म पनि हो। २०२५ संस्करणले चार जना योग्य सुन्दरीहरूलाई आगामी दुई वर्ष विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई गर्व गराउने अवसर पनि पाउनेछन्।

Share Now