ढाका(बंगलादेश),५ साउन । साफ यू २० महिला च्याम्पियनसिपको अन्तिम तथा निर्णायक खेलमा गोलबिहिन हुन पुगेको नेपालले आयोजक राष्ट्र बंगलादेशलाई उपाधि सुम्पेको छ ।
आज साँझ भएको खेलमा नेपाललाई ४-० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।
पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्याट्रिकसहित ४ गोल गरिन् ।
खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।
दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै अग्रता ४-० मा पुर्याइन् ।
नेपाली खेलाडीहरुलाई आज भाग्यले पनि साथ दिएन । फ्रि किकलाई पनि नेपालले गोलमा परिणत गर्न सकेन भने गोल पोष्टमा रिवाउण्ड भएर आएको र किपरको हातबाट एकपटक पुत्केको बललाई गोलमा परिणत गर्न नेपाली खेलाडीहरु चुके ।
बंगलादेशका छरिता र द्रुत गतिका खेलाडी विरुद्ध नेपालका खेलाडीहरु निरिह देखिए । बलको कन्ट्रोल,पास,आक्रमण कुनै पनि क्षेत्रमा नेपाली खेलाडीहरुको प्रदर्शन हेर्न लायक रहेन ।
नेपाली खेलाडीहरुको गति किन रफ्तार बिहिन भयो ? कि कोचले खेलको दिन बिहान गरेको अभ्यासबाट थकित भएर मैदानमा नेपाली खेलाडी कुद्न नसकेका हुन् ? फुटबल खेलमा खेल पहिले लिएको रणनीतिबाट आफूले गोल गर्न सकिएन,विपक्षीले त्यसलाई ध्वस्त पार्यो भने इन्जुरी, ब्रेक टायम वा ड्रिंक टाइममा वैकल्पिक रणनीति लिन खेलाडीलाई निर्देशन दिइन्छ ।रणनीति परिवर्तन गरी विपक्षीका रणनीतिलाई ध्वस्त पारेर गोल गराउने योजना बुनिन्छ । तर बंगलादेश विरुद्धको आजको खेलमा नेपाली कोचले खेलाडीहरूलाई वैकल्पिक रणनीति दिन सकेको देखिएन ।
बंगलादेशसंगको आजको खेलले साफ खेलमा फाइनलमा नेपाल बंगलादेशसंग घरेलु मैदानमा पराजित हुँदाको दृश्य संझाएको छ । त्यस बेला नेपाल पराजित भएपछि राष्ट्रिय टोलीका प्रमुख कोच राजेन्द्र तामाड.ले राजिनामा नै दिएका थिए ।त्यतिबेला नेपाली टिमकी चर्चित विश्व खेलाडी सावित्री भण्डारी लगायतका खेलाडीहरुले बंगलादेशले विदेश कोच ल्याएर व्यवसायिक खेल सिकिरहेको तर नेपालले त्यसो गर्न नसकेको यथार्थ सार्वजनिक गरेका थिए ।
त्यसपछि लामो समय लिएर एन्फाले विदेशी कोच चयन गर्यो । प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएको एकै महिनामा उनले खेलाडीहरुलाई उज्वेकिस्तानमा भएको एशिया कप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने स्तरमा पुर्याए । तर एन्फाका पदाधिकारीहरु भने फाइनल जिताउन नसकेको भनेर अहिले उनलाई हटाउन न्वारान देखिको बल लगाइरहेका छन् ।
उनलाई हटाउन खोज्ने एन्फा पदाधिकारीहरुले सामाजिक सञ्जालमा दिएका विरोधाभाषपूर्ण अन्तरवार्ताहरुमा के उजागर भएको छ भने गोलकिपरलाई कप्तान राख्दा म्याचमा विवाद हुँदा ऊ आएर रेफ्रिसंग विवाद गर्न भ्याउदैन । रेफ्रिसंग विवादको नतिजा पक्ष वा विपक्षमा परेको किपरले विपक्षीको प्रहार रोक्न केन्द्रित हुन सक्दैन । त्यसैले कप्तान फेर्नुपछ भन्ने जानकारी सहायक कोच राजेन्द्र तामाड. र एन्फा अफिसियललाई दिएका रहेछन् । यो विषय जानकारी पाएपछि कप्तान परिवर्तन गर्ने सन्दर्भका कुरा अफिसियल र खेलाडीबीच पुर्याएर सामञ्जस्यता कायम राख्ने काम प्रमुख प्रशिक्षकका सहयोगीहरुको हो । उनीहरुले उचित जिम्मेवारी निर्वाह गरेनन् ।
नेपाली अफिसियलहरु उज्वेकिस्तानसंगको खेलमा एञ्जिला किपर भएको भए नेपाल जित्ने दावी गरिरहेका छन् । कप्तान खोसिएको सुर्ता वा मानसिक दबाबमा परेकी एञ्जिलाले राम्रै गर्थिन भनेर भन्ने ठाउँ नै छैन । एञ्जिला किपर हुँदाहुँदै साफमा बंगलादेशले नेपाली चेलीहरुलाई घरेलु मैदानमा रुवाएर उपाधी खोसेको हामीले देखेकै हो । पिटरले खेलाडीहरुलाई राम्रो होटल उपलब्ध नगराएको, प्रशिक्षक र खेलाडी एकै होटलमा बस्ने व्यवस्था नमिलाएको , नेपालका प्रशिक्षकहरुलाई ल्यापटप पनि खोल्न नआउने, एन्फामा अधिक राजनीति भएको र व्यवसायिक ढंगले स्वतन्त्र निर्णय लिएर काम गर्ने वातावरण नभएको जस्ता दर्जनौ आरोप लगाएका छन् । उनको आरोपमा सत्यता भएको एन्फा अफिसियलका अन्तर्वार्ताहरुमा उदांगो पनि भएको छ । एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई मासिक १८ हजार दिंदो रहेछ र पदाधिकारीहरु १ लाख भन्दा ज्यादा तलब खाँदा रहेछन् । बरु यसमा संसदीय समितिले हुन्छ कि सरकारले हुन्छ कि अख्यिारले हुन्छ छानबिन गर्नुपर्ने खाँचो देखिएको छ। सामाजिक सञ्जालमा कतै कतै त ट्राइब्रेकरमा पुगेको खेलमा नेपाली महिला टिमका सदस्यले पेनाल्टी हान्न इन्कार गरेको भन्ने सम्मको कुरा आएको छ । त्यसो हो भने त्यो त निकै गम्भीर विषय हो । राष्ट्रप्रति नै घात हो ।
नेपाली खेलाडीलाई ब्यवसायिक बनाउन र आगामी दिनमा नेपालले उपाधि जित्नेहो भने राष्ट्रिय टिममा प्याट्रिक डे वाइल्ड जस्ता धेरै प्रशिक्षक भित्र्याउन जरुरी छ । जसरी बंगलादेशले लगातार उपाधि जितेको छ, त्यो स्तरमा पुग्ने हो भने त्यही खालको धैर्यता र व्यवसायिक वातावरण निर्माण गर्न जरुरी छ । एक महिनामा कुनै पनि कोचले उपाधि जित्ने नतिजा दिन सक्दैन । यहाँ दशौं बर्षदेखि टाँसिएर बसेको प्रशिक्षकले कुनै नतिजा दिएका छैनन् । यु २० टिमकै कुरा गर्ने हो भने एकपटक खेलिसकेका टिम र खेलाडीका सबल र दुर्बल पक्ष त खेलाडी र प्रशिक्षक दुवैलाई थाहा हुन्छ । कोचले तिनका गेमका रेकर्ड हेरेर तिनको कमजोरी पत्ता लगाउदै आफ्ना खेलाडीलाई उनीहरुको कमजोरीमा प्रहार गर्न लगाउदा खेल जित्न सजिलो हुन्थ्यो । तर नेपाली कोच त उही शारीरिक अभ्यासमा मात्र भुलेको देखियो । यस मानेमा पनि महिला राष्ट्रिय टिमका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डले भनेको कटु यथार्यलाई आत्मसात गर्दै अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु, प्राविधिकहरु, खेलाडीहरु सबैले आफ्ना कमजोरी र आग्रह पूर्वाग्रह हटाएर ब्यवसायिक ढंगले खेल्ने वातावरण निर्माण गर्नुपर्दछ नत्र हरेक पटक विदेशी टोलीसंग स्वदेशी मैदान होस् वा विदेशी मैदान खेल्दा रुँदै फर्कनुपर्ने अवस्थाको अन्त्य हुने देखिदैन ।


















