काठमाडौँ, ६ साउनः प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा आज यहाँ ‘बीपी आत्मवृत्तान्तका कथा÷अकथा’ पुस्तक सार्वजनिक गरिएको छ ।
साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक बीपीका पुत्र एवं नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
पुस्तक सार्वजनिक गर्दै नेता कोइरालाले आफ्नो जीवनको एउटा घटनाबाट बीपीलाई राम्रोसँग चिन्ने अवसर पाएको सुनाउनुभयो । “माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्दा मेरो ७५ प्रतिशत अङ्क आएको थियो, बीपीका नजिकका एक साथीको छोरीको ४५ प्रतिशतमात्र आएको थियो, उच्च शिक्षा अध्ययनको छात्रवृत्तिका लागि म र उहाँको साथीका छोरीमध्ये बीपीले ४५ प्रतिशतमात्र अङ्क ल्याउनेलाई छनोट गरेपछि मलाई अन्याय भयो भनी बाबासँग गुनासो गरेँ, उहाँले तँ बीपीको छोरो होस् तैँले यस्ता सयौँ अवसर पाउँछस्, ती छोरीले पाउने यो नै एउटा अवसर हो, अब भन् न्याय भयो कि अन्याय ? भनेपछि नै मैले बीपीलाई राम्रोसँग चिनेँ”, उहाँले भन्नुभयो ।
राजनीतिमा मानिसले यस्तो होस् भनेर सोचिरहे पनि त्यस्तो नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले राजनीतिको बाटोमै रमाउनेले मात्र यसमा अडिरहन सक्ने भनाइ राख्नुभयो । “विसं २०१७ पुस १ गतेको घटनापछि हामीले बीपीलाई सुन्दरीजल बन्दीगृहमा भेट्दा पनि हाम्रो पठनपाठनको चिन्ता गर्नुहुन्थ्यो, छोरा छोरीले राम्रो पढून् भन्ने उहाँको चाहना थियो,” उहाँले भन्नुभयो ।
शिक्षाविद् माथेमाले बीपीको आत्मवृत्तान्तबाट पात्र निकालेर बनाइएको कथामा लेखकको मौलिकता रहेको बताउनुभयो । कुनै पुस्तकका पात्र निकालेर बनाइएको कथाको सो पुस्तक नेपाली साहित्यमा नयाँ प्रयोग भएको समेत उहाँको भनाइ छ । पुस्तक सानो भएपनि यसमा धेरै कुरा समेटिएकाले पठनीय रहेको शिक्षाविद् माथेमाले बताउनुभयो ।
लेखक ढुुङ्गानाले २०५५ सालमा बीपीको आत्मवृत्तान्त प्रकाशन भएपछि पढेको उल्लेख गर्दै आफ्ना पिता विष्णुप्रसाद कोइरालाको संस्मरण पढेदेखि यस विषयमा लेख्ने सोच बनाएको सुनाउनुभयो । बीपीको जीवन, आदर्श र सङ्कल्पलाई चिनाउन पुस्तक पर्याप्त हुने उहाँको भनाइ छ ।
राजनीतिक विश्लेषक केसीले बीपी कोइराला विगत ५० वर्ष अघिदेखि चर्चा भइरहने राजनीतिक व्यक्तित्वका रूपमा स्थापित हुनुभएको बताउनुभयो । राजनीतिमा बीपीलाई पुनर्ताजगी दिन पुस्तक सफल रहेको उहाँको बुझाइ छ ।
पुस्तक प्रकाशक संस्था न्यूरोड बुक स्टोरका सञ्चालक राजेश गजुरेलले संस्थाको पहिलो कृतिका रुपमा बीपीको पुस्तक प्रकाशन गरेको र आगामी दिनमा यस्ता कृति प्रकाशनमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । १११ पृष्ठको पुस्तकमा २१ शीर्षकमा कथा लेखिएका छन् ।


















